कृष्णभीरमा कार पुरियो, आज कहाँ–कहाँ छ बाटो अवरुद्ध ?


२०७५ असार १३ बुधबार ११:३० बजे
काठमाडौं, १३ असार । केहि दिनयता सक्रिय बन्न थालेको वर्षाका कारण देशभर पहिरो र सडक अवरुद्ध हुने क्रम बढेको छ । देशकै लाइफलाइन नारायणगढ–मुग्लिन खण्डमा आज पनि पहिरो खसेको छ । ११ घण्टापछि हिजो मात्र खुलेको मुग्लिन सडकमा आज फेरि पहिरो खसेको हो । नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा पहिरोकै कारण कष्टकर बनेको छ भने अन्य सडक भएर यात्रा गर्ने यात्रुहरुले पनि सास्ती भोगिरहेका छन् । पहिरोले केही दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि अस्त–व्यस्त छ । मंगलबार ११ घण्टापछि खुलेको सडकको ४ किलोमा बुधबार बिहानै पहिरो खसेपछि दुवैतर्फ गाडीहरु रोकिएका छन् । ढुङ्गा–माटोसहित झरेको पहिरोले दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यता, पृथ्वी लोकमार्गअन्तरगत बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पनि पहिरो खसेको छ । बिहान लेदो माटोसहित खसेको पहिरोले चितवनबाट काठमाडौं आउँदै गरेको बा १२च ३८२१ नम्बरको कारको आधा भाग पुरिएको प्रहरीले जनाएको छ । पहिरोकै कारण काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा १३ च ५९८६ नम्बरको बोलेरो जीप पहिरोको बीचमा फसेको छ । इलाका प्रहरी कार्यालय बेनिघाटका अनुसार, घटनामा मानवीय क्षति भने भएको छैन । बिहान ५ः४५ देखि अवरुद्ध सडक खुलाउन अहिले प्रयास भइरहेको छ । यता जाजरकोटको भेरी नगरपालिका–१, रातामाटेमा गए राति पहिरो जाँदा जाजरकोट–डोल्पा सडकखण्ड भएर चल्ने सवारी रोकिएका छन् । गएराति ९ बजे वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ । त्यस्तै, मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै पनि पहिरो खसेको छ । केहीबेर ठप्प बनेको यो सडक अहिले एकतर्फी खुला गरिएको छ । बिहान २ः३० बजे खसेको पहिरोले फाखेल–काठमाडौं चल्ने सवारी साधन प्रभावित भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७