राजनीतिक ‘कनेक्सन’ का आधारमा रोकिएका मुद्दा अघि बढाउन सीआईबीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावमा रोकिएका मुद्दा अब अगाडि बढ्ने बताएका छन् ।
शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षण गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसमेतलाई राखेर उनले सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई त्यहाँ अनुसन्धान भइरहेका मुद्दा र त्यसलाई तीव्रता दिन गर्नु विषयहरूको बारेमा जानकारी लिए ।
उनले अब कुनै पनि प्रभावमा अनुसन्धान नरोक्न निर्देशन दिएका छन्।
अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर काम अगाडि बढाउनुपर्ने, रोकिनु नपर्ने विषयहरू यदि रोकिएका छन् भने कुनै नयाँ विषय अनुसन्धान सुरु गर्नुपर्ने छ भने ती अगाडि बढाउन पनि अर्यालले निर्देशन दिए।
उनले भने, ‘तपाईंले बिगतमा जे देख्नुभएको थियो। राजनीतिक कनेक्सनका आधारमा जे कुराहरू रोकिएका थिए। जे कुराहरू बिथोलिएका थिए अब त्यस्तो हुँदैन। यो सरकारको म्यान्डेड नै सुशासन हो। सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्रमा निर्वाचन गराउन पनि सकिँदैन ।’
सुशासन दिन नसकेकै कारण यसअघिको सरकार र जनप्रतिनिधिहरूको भूमिका बीचैमा भंग भएको उनको भनाई थियो ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका तत्कालीन एसएसपी मनोज केसी अहिले सीआईबी प्रमुख भएका हुन् ।
.gif)

.png)

