मन जित्यौं तर मत जित्न सकेनौं : कुलमान घिसिङ


२०८२ फाल्गुण २६ मंगलबार १३:०७ बजे

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनताको मन जिते पनि मतमा भने सफलता हासिल गर्न नसकेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कामबाट जनताको विश्वास जिते पनि यस पटक मत परिणाम आफ्नो पक्षमा आउन नसकेको उल्लेख गरेका हुन् ।  काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको भन्दै छोटो समयमै जनअभिमतमार्फत प्राप्त माया, विश्वास र सद्भाव आफूहरूका लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको उनले बताएका छन्।

घिसिङले भ्रष्टाचारविरुद्ध र सुशासनको मागसहित उठेको ‘जेनजी विद्रोह’पछि सम्पन्न चुनावमा नयाँ शक्तिका रूपमा उज्यालो नेपाल पार्टी उदाएको उल्लेख गरेका छन्। पार्टीका उम्मेदवारलाई मतदान गर्ने मतदाता, समर्थक तथा शुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन्।

घिसिङले देशलाई नाराभन्दा पनि स्पष्ट दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। उनले विकास आयोजनामा ढिलासुस्ती, ठेक्का लिएर काम नगर्ने ठेकेदारमाथि कारबाही हुन नसक्ने अवस्था र निर्णय क्षमताको अभावका कारण विकास प्रभावित भएको उल्लेख गरेका छन्।

ऊर्जा क्षेत्रको अनुभव उल्लेख गर्दै उनले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न सम्भव भएको र विद्युत पहुँच ५८ प्रतिशत घरधुरीबाट बढाएर करिब ९९ प्रतिशतसम्म पुर्‍याइएको दाबी गरेका छन्। नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत आयातकर्ताबाट निर्यातकर्तातर्फ उन्मुख बनाउने आधार तयार भएको उनको भनाइ छ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने, बाढीले क्षति पुर्‍याएका सडक पुनः सञ्चालन गर्ने तथा वर्षौँदेखि अलपत्र परेका विकास आयोजनाको ठेक्का तोड्ने काम अघि बढाइएको उनले उल्लेख गरेका छन्।

बुढीगण्डकी, माथिल्लो अरुण र किमाथांका अरुणजस्ता ठूला जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने मोडालिटी तय हुनु पनि महत्वपूर्ण उपलब्धि भएको उनले बताएका छन् । 

घिसिङले चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो जनमत प्राप्त भएको उल्लेख गर्दै जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्दै देशमा सुशासन कायम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्। सरकारका राम्रा कामलाई समर्थन र गलत काम भए सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने उज्यालो नेपाल पार्टीको धारणा उनले व्यक्त गरेका छन्।

चुनावको परिणामले निराश नहुने र ‘उज्यालो नेपाल’ निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि उनले जनाएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७