१९१ दिनको कार्यकालपछि गृहमन्त्री अर्याल बिदा : सुशासन सुधारमा जोड र निर्वाचन सम्पन्न 


२०८२ चैत १३ शुक्रबार ०४:३४ बजे

काठमाडौं : जेनजी आन्दोलनपछि उत्पन्न अन्योल, त्रास र अस्थिरताबीच जिम्मेवारी सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिनको कार्यकाल पूरा गर्दै पदबाट बिदा लिएका छन्। शान्ति–सुरक्षा कायम, सुशासन सुदृढीकरण र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु आफ्नो कार्यकालको मुख्य उपलब्धि रहेको उनले बताएका छन्।

भदौ २३ र २४ पछिको अवस्था जटिल रहेको उल्लेख गर्दै उनले देशमा कानुनी राज्य कमजोर बनेको, राज्य संयन्त्र निस्क्रिय भएको र नागरिक त्रासमा रहेको अवस्थालाई सामान्यीकरण गर्नु पहिलो प्राथमिकता रहेको बताए। 'हामीले ‘अवस्थालाई सामान्यीकरण’ गर्यौँ । त्यसपछि कानुनी राज्य पुनःस्थापना गर्यौँ । हामीले स्पष्ट रूपमा बुझ्यौँ–सुशासनको अभावकै कारण विद्रोह भएको हो । त्यसैले सुशासन सुधार, सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने कामलाई प्राथमिकतामा राख्यौँ ।'

जेनजी आन्दोलनपछि गठन भएको सरकारको प्रमुख जिम्मेवारी आवधिक निर्वाचन सम्पन्न गर्नु रहेको भन्दै उनले सुरक्षाका चुनौतीबीच समयमै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको उल्लेख गरे। कारागारबाट कैदी फरार हुने, हातहतियार लुटिने र राजनीतिक दलप्रति अविश्वास बढेको अवस्थामा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

बिहीबार नवनिर्वाचित सांसदहरूले शपथ लिएसँगै नयाँ सरकार गठनको तयारी भइरहेका बेला अर्यालले मन्त्रालयबाट बिदा लिएका हुन्। उनका अनुसार हाल देशमा कानुनी राज्य पुनःस्थापित भएको, सुशासनमा सुधार आएको र सेवा प्रवाहमा परिवर्तन देखिएको छ।

आफ्नो कार्यकालको अनुभव सुनाउँदै उनले शान्ति–सुरक्षाको सामान्यीकरण, सुशासन सुदृढीकरण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु प्रमुख उपलब्धि भएको बताए। 'निर्वाचन हुने वा नहुने भन्ने आशङ्काबीच हामीले प्रशासनिक समन्वय र सुरक्षा तयारीमार्फत निर्धारित समयमै रक्तपातविहीन निर्वाचन सम्पन्न गर्यौँ', उनले भने, 'यसबाट संविधान सही बाटोमा आएको छ र यसको सम्पूर्ण श्रेय आमनागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जान्छ ।'

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरिएको जानकारी दिँदै उनले उनीहरूको सम्मानका लागि विभिन्न स्थानमा स्मारक निर्माणको योजना अघि बढाइएको बताए। सहिद परिवारलाई राहत, घाइतेलाई परिचयपत्र र मासिक भत्ता दिने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

जेनजी परिषद् गठनको प्रक्रिया अघि बढाइएको र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने लक्ष्य राखिएको छ। साथै, चार सयभन्दा बढी सुरक्षा संरचना पुनर्निर्माण गरी सुरक्षाकर्मीको मनोबल बढाउने काम गरिएको मन्त्रालयले जनाएको छ।

'हामीले नेतृत्व शैली परिवर्तन गर्यौँ । आदेश दिनेभन्दा पनि समन्वय गर्ने, अवसर दिने र क्षमताअनुसार जिम्मेवारी दिने वातावरण बनायौँ । सामूहिक नेतृत्वको अभ्यास गरियो, जसले सुरक्षाकर्मीहरूमा स्वामित्वको भावना विकास गर्यो । आजको अवस्थामा सुरक्षाकर्मी र नागरिकबीचको सम्बन्ध सुधारिएको छ र मनोबल पनि उल्लेखनीय रूपमा बढेको छ । सफल निर्वाचन त्यसको प्रत्यक्ष प्रमाण हो ।'

राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याइएको, नागरिकता नियमावली जारी गरी करिब तीन हजार नागरिकलाई अधिकार प्रयोग गर्न सहज बनाइएको पनि उनले बताए।

निर्वाचनका लागि केन्द्र, प्रदेश र जिल्लाबीच समन्वय मजबुत बनाउन विशेष रणनीति अपनाइएको थियो। प्रविधिको प्रयोग गर्दै लाखौं एसएमएसमार्फत अर्ली वार्निङ प्रणाली सञ्चालन गरिएको उनले बताए।

मन्त्रालयले निष्पक्षता, समन्वय र सामूहिक नेतृत्वको संस्कार विकास गरेको उल्लेख गर्दै उनले आगामी नेतृत्वलाई यसले सहयोग गर्ने विश्वास व्यक्त गरे। जेनजी पुस्तालाई राज्यको मूलधारमा ल्याउनुपर्नेमा उनले जोड दिए।

अर्याल २०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त भएका थिए। आफ्नो कार्यकालमा विपद् व्यवस्थापन, मिटरब्याज पीडितको समस्या सम्बोधन र नागरिकता वितरण प्रक्रियामा सहजता ल्याउने काम भएको मन्त्रालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७