सुदन किरातीले छोडे प्रलोपा, हर्क साम्पाङसँग संवादमा


२०८३ बैशाख ९ बुधबार १२:३७ बजे

काठमाडौं :  प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले परित्याग गरेका छन् । पूर्वमन्त्री किरातीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । 

‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ किरातीले फेसबुकमा लेखेका छन्, ‘यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।’ 

गत मंसिरमा किराती सहित बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको प्रगतिशील अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारलगायत मिलेर प्रगतिशिल लोकतान्त्रिक पार्टीको स्थापना गरिएको थियो । 

७ मंसिर २०८२ मा एकता घोषणा गरेर प्रलोपाले पाँच सदस्यीय अध्यक्ष परिषद बनाएको थियो । प्रलोपाको अध्यक्ष परिषद्मा सन्तोष परियार, सुदन किराँती, दुर्गा सोब, ओजस्वी भट्टराई र सुरेन्द्र प्रसाद जैसवाल थिए । तर २१ फागुनमा सम्पन्न चुनावमा  प्रलोपाले अस्तित्व निर्माण गर्न नसकेपछि नेताहरु तितरबितर भएका हुन् ।

किरातीले जनसमुदायको भरोसा र शहीदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आए पनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गरेका छन् ।

भनेका छन्, ‘जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु । मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु ।’

स्रोतका अनुसार किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग संवाद जारी राखेका छन् । नेता किरातीले अध्यक्ष साम्पाङसँग पटक पटक संवाद गरेको स्रोतको भनाई छ । गत २१ फागुनमा सम्पन्न निर्वाचनमा किरातीले श्रम संस्कृति पार्टीका अध्यक्ष सम्पाङ सहित भोजपुरमा ध्रुवराज राई, खोटाङमा आरेन राईलाई सहयोग गरेका थिए ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७