प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन : हर्क सम्पाङ
काठमाडौँ, २७ जेठ प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीको संसद् अवरोध कायमै रहेको छ। सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न समय उपलब्ध गराएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते संसद्मा नेपालले पनि भारतको जमिन मिचेको भनी दिएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीले सुरुदेखि नै कडा आपत्ति जनाउँदै आएको छ। सोही क्रममा आज परराष्ट्रमन्त्री खनालले आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराइरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध प्रदर्शन गरेका हुन्।
पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले जवाफ दिने गरी अन्य दलहरूसँग भएको सहमतिप्रति असहमति व्यक्त गरेका छन्। अध्यक्ष साम्पाङले भने, “एउटाले गल्ती गर्ने अनि अर्कोले जवाफ दिने भन्ने हुँदैन। प्रधानमन्त्रीको भनाइ अरूले सच्याउने कुरा मान्य हुँदैन।”
उनले प्रधानमन्त्रीले नै आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने वा लिखित रूपमा स्पष्ट धारणा पठाउनुपर्ने अडान राखेका छन्। अन्य विपक्षी दलहरू परराष्ट्रमन्त्रीको सम्बोधनसँगै सदनको गतिरोध अन्त्य गर्ने पक्षमा देखिए पनि श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्रीको प्रत्यक्ष जवाफदेहिताको माग गर्दै आफ्नो विरोधलाई निरन्तरता दिएको छ।
.gif)

.png)

