त्रिशूलीमा उर्लियो बाढी, गल्छीमा चार घर बगाए


२०८३ भदौ १४ आइतबार ०९:२९ बजे

काठमाडौं : त्रिशूली नदीमा पानीको बहाव बढेपछि धादिङको गल्छी गाउँपालिका–४ चिरौँदीमा चार वटा घर बाढीले बगाएको छ। गल्छी–४ का वडाध्यक्ष राजु अधिकारीका अनुसार आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदीसँगै त्रिशूलीमा समेत बाढीको बहाव बढेपछि नदी तटीय क्षेत्रमा रहेका चार घर बगेका हुन्।

बाढीले स्थानीय कर्णबहादुर मगरको पक्की घर तथा रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलका ब्लकले बनेका घर बगाएको वडाध्यक्ष अधिकारीले जानकारी दिए। उनका अनुसार ती सबै घर यसअघि गत बुधबार आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त भएका थिए।

बाढीको बहाव बढेसँगै सोही क्षेत्रमा विष्णुबहादुर मगरको घरसमेत जोखिममा परेको छ। नदी तटीय क्षेत्रमा रहेका रामशरण राई र श्यामलाल श्रेष्ठका घर पनि जोखिममा रहेको वडाध्यक्ष अधिकारीले बताए। यस्तै, नदीले गल्छी–४ कै बेल्खु क्षेत्रमा सडकतर्फ कटान गरिरहेको छ। सम्भावित थप क्षतिलाई रोक्न स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

भोटेकोशीको बहाव बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यसअघि रसुवामा आइतबार बिहान भोटेकोशीमा पुनः बाढी आएको र ठूलो आवाज सुनिएको स्थानीय प्रशासनले जनाएको थियो। पछिल्लो बाढीका कारण भोटेकोशीसँगै त्रिशूली नदीको बहावसमेत बढेपछि तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७