काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

मृतक आठै जनाको सनाखत


२०८३ जेठ ३० शनिबार १५:२२ बजे

काठमाडौँ :  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा शुक्रबार दिउँसो भएको भीषण यात्रुवाहक बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन एक उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सात दिनभित्र स्पष्ट प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

यसैबीच, बिपी राजमार्गअन्तर्गत बुच्चाकोटस्थित सेल्फीडाँडाबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको बा३ख ८३९८ नम्बरको बसमा परी ज्यान गुमाउने आठै जना यात्रुको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार मृत्यु हुनेहरूमा रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ रहेका छन्।

त्यस्तै, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ र ६० वर्षीया माया तामाङ, रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ, सिन्धुलीको घ्याङ्लेक गाउँपालिका–४ निवासी २२ वर्षीया सुमी तामाङ र दैलेख घर भई भकुण्डेवेँशीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका ३० वर्षीय अमलदार बमबहादुर भण्डारीको दुर्घटनामा मृत्यु भएको छ। बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको गुडिरहेको बस एक्कासि अनियन्त्रित भई भिरबाट तल खसेको थियो।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट आठै जनाको शव निकालेर कानुनी प्रक्रिया पूरा गरिएको छ भने मृतकका आफन्तहरूसँग सम्पर्क समन्वय भइरहेको छ। दुर्घटनामा गम्भीर घाइते भएका अन्य १६ जना यात्रुको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन्। तीव्र गति वा प्राविधिक गढबढी के कारणले दुर्घटना भयो भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७