पश्चिम नेपालमा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम बढ्ने


२०८३ असार २५ बिहीबार ०८:४५ बजे

काठमाडौं । मौसमविद्हरूले भोलिदेखि आइतबारसम्म पश्चिम नेपालका विभिन्न जिल्लामा भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्। मौसम पूर्वानुमान मोडेलहरूले पश्चिमी भूभागमा मनसुनी गतिविधि थप सक्रिय हुने संकेत गरेका छन्, जसका कारण केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने अनुमान गरिएको हो।

मौसमविद् विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन्। यद्यपि, वर्षा हुने स्थान र यसको मात्रा भने फरक–फरक हुन सक्ने भएकाले सबै क्षेत्रले समान रूपमा वर्षा नपाउन पनि सक्ने उनले बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सचेत गराउँदै लेखेका छन्, 'केही ठाउँमा मोडेलले देखाएको भन्दा धेरै र केही ठाउँमा थोरै पनि वर्षा हुन्छ। त्यसैले सजग हुनुहोला।'

मौसमविद्हरूका अनुसार भारी वर्षाका कारण विशेषगरी पहाडी तथा हिमाली जिल्लामा पहिरो जाने, सडक अवरुद्ध हुने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहने सम्भावना छ। त्यसैले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा स्थानीय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, आज पनि देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तर पूर्वी नेपालको तराई क्षेत्रमा भने अपेक्षाकृत कम वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।

मौसमविद् पोखरेलका अनुसार तराई क्षेत्रमा पर्याप्त वर्षा नहुनुको मुख्य कारण वर्षा गराउने बादललाई माथितर्फ उकास्ने प्रणाली कमजोर हुनु हो। पहाडी भूभागले बादललाई माथि उठाउन सहयोग गर्ने भएकाले त्यहाँ तुलनात्मक रूपमा बढी वर्षा भइरहेको छ। तर समथर तराई क्षेत्रमा बादल बने पनि पर्याप्त उचाइमा नपुग्दा उल्लेख्य वर्षा हुन नसकेको उनको भनाइ छ।

मौसमविद्हरूले आगामी केही दिन मौसमको अवस्थाबारे नियमित जानकारी लिन, अनावश्यक जोखिमपूर्ण यात्रा नगर्न तथा स्थानीय प्रशासनले जारी गर्ने सूचना पालना गर्न सबैलाई अनुरोध गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७