गायक सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ सार्वजनिक (भिडियो)
काठमाडौं । युवा गायक सुनिल थापा मगरको नयाँ गीत ‘सोल्टिनी सेवारो’ सार्वजनिक भएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल संगीत प्लेटफर्ममा सकारात्मक प्रतिक्रिया बटुल्दै चर्चा कमाउन थालेको छ।
राई–लिम्बू समुदायको मौलिक संस्कृति, प्रेम र आत्मीय सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा एनिश एन्जल राईको शब्द तथा संगीत रहेको छ। लोकभाकाको मिठास र आधुनिक संगीतको संयोजनमा तयार गरिएको गीतमा सुनिल थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन्। ड्रिम्स रेकर्डिङ स्टुडियोमा विप्लव अधिकारीले रेकर्डिङ गरेका गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका छन्। उत्कृष्ट ध्वनि गुणस्तर र संगीत संयोजनका कारण गीतले संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
‘सोल्टिनी सेवारो’ प्रेमका भावनामा मात्र सीमित नभई राई–लिम्बू समुदायको मौलिक संस्कृति, रहनसहन र परम्परालाई समेत कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास हो। गीतले समकालीन युवा पुस्ताको भावना र सांस्कृतिक पहिचानलाई प्रभावकारी ढंगले अभिव्यक्त गरेको छ।
गीतको म्युजिक भिडियो मकवानपुर जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा गायक सुनिल थापा मगर स्वयं मुख्य भूमिकामा देखिएका छन् भने अभिनेत्री रेबिका मगरले उनको साथ दिएकी छन्।
भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका छन्। छायांकन तथा ड्रोन सञ्चालन सन्जोक श्रेष्ठ, निर्माण व्यवस्थापन योगेश राना मगर, मेकअप प्रिया मगरले गरेकी छन्। भिडियोको निर्देशन, सम्पादन (करेक्सन) तथा कलर ग्रेडिङ एकान्त मगरले गरेका हुन्।
नुवाकोटका गायक सुनिल थापा मगर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन्। यसअघि पनि उनले विभिन्न चर्चित गीतमार्फत आफ्नो सांगीतिक पहिचान स्थापित गरिसकेका छन्। ‘सोल्टिनी सेवारो’ले पनि मौलिकता, सांस्कृतिक स्वाद र आधुनिक प्रस्तुतीकरणको समिश्रणमार्फत दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुहोस् :
.gif)

.png)

