सेनाको हेलिकोप्टर सामान्य रुघाखोकी लागेका मन्त्री बोक्न प्रयोग गर्नु गैरजिम्मेवार : वर्षमान पुन
‘विपद्मा परेकाहरूको उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकोप्टर र सेनाको स्काई ट्रक सामान्य रुघाखोकी लागेका मन्त्रीलाई काठमाडौं ल्याउन प्रयोग गरिनु गैरजिम्मेवारपूर्ण’
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले मुलुकमा बढ्दो मनसुनजन्य विपद्, जनसरोकारका समस्या तथा सरकारको कूटनीतिक नीतिमाथि प्रश्न उठाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पुनले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नुको साटो सरकारले राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाए।
विपद्मा परेका नागरिकको उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकोप्टर र सेनाको ‘स्काई ट्रक’ सामान्य स्वास्थ्य समस्या भएका मन्त्रीलाई काठमाडौं ल्याउन प्रयोग गरिएको भन्दै उनले आपत्ति जनाए।
‘विपद्मा परेकाहरूको उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकोप्टर र सेनाको स्काई ट्रक सामान्य रुघाखोकी लागेका मन्त्रीलाई काठमाडौं ल्याउन प्रयोग गरिनु गैरजिम्मेवारपूर्ण कार्य हो,’ पुनले भने, ‘राज्यले एकातिर विपद्को सामना गरिरहेको छ भने अर्कोतिर मन्त्रीहरूको सुखसुविधाका लागि साधनस्रोतको दुरुपयोग भइरहेको छ।’
जाजरकोट, रोल्पा र बागलुङलगायत जिल्लामा विपद्का कारण ठूलो क्षति भए पनि उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम सुस्त रहेको पुनको भनाइ छ। उनले जोखिमयुक्त क्षेत्रमा भूगर्भिक अध्ययन टोली पठाउन तथा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराए।
गृहमन्त्री सुधन गुरुङ आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेको उल्लेख गर्दै पुनले देशभरको विपद्को अवस्था, उद्धार तथा राहत वितरणबारे सदनलाई तत्काल जानकारी गराउन माग गरे।
सरकारले जनतालाई सेवा प्रवाह गर्ने सवालमा पुरानै प्रवृत्ति दोहोर्याएको पुनले आरोप लगाए। ग्यास, मल तथा राहदानी लिन सर्वसाधारणले अझै घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै उनले सरकारमा नयाँ भनिएका शक्ति आए पनि जनताको दैनिक जीवनमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरे।
‘जनताका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा सरकारको अवस्था पुरानै छ,’ पुनले भने, ‘ग्यास, मल र राहदानी लिन जनता अझै घण्टौँ लाइन बस्नुपर्ने बाध्यता छ।’ पूर्वमन्त्री पुनले सरकारको परराष्ट्र नीतिमाथि समेत प्रश्न उठाए। छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा सरकारले अपरिपक्वता र दोहोरो चरित्र देखाएको उनको आरोप छ। ‘संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट गरेको छ। हामी कुनै पनि सैन्य गठबन्धन वा शक्तिको पक्षमा ढल्किनुहुँदैन,’ पुनले भने।
तिब्बत र दलाई लामासम्बन्धी विषयमा सरकारको अस्थिर नीतिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको स्वाधीनतामाथि प्रश्न उठ्न सक्ने उनको चेतावनी छ। पुनले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संविधानको धारा ५ र २६ बमोजिम तत्काल आवश्यक कानुन निर्माण गर्न सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे।
धर्मलाई राजनीतिको हतियार बनाउने स्वार्थ समूहहरू सक्रिय रहेको भन्दै उनले त्यस्ता गतिविधिप्रति सरकारले शून्य सहनशीलताको नीति लिनुपर्नेमा जोड दिए। उनले सामाजिक तथा धार्मिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गर्दै संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र सामाजिक एकतालाई मजबुत बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए।
.gif)

.png)

