खगेन्द्र सुनारले लेखे : गृहसचिव र आईजीपीको बर्खास्तगी अनिवार्य


२०८३ भदौ २ मंगलबार ०९:०९ बजे

काठमाडौं : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीका लत्ताकपडा र जुत्ता खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरण तत्काल छानबिन गर्नुपर्ने अडान दोहोर्‍याएका छन्। उनले त्यसअघि गृहसचिव र प्रहरी महानिरीक्षक (आईजीपी)लाई बर्खास्त गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद सुनारले उक्त प्रकरणको छानबिनका लागि तत्काल समिति गठन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनले लेखेका छन्, ‘म्यादी प्रहरीको लत्ता, कपडा, जुत्ता खरिदमा भएको भ्रष्टाचार काण्डको उजुरी तत्काल छानबिन समिति गठन गरी दोषीउपर कारबाही जरुरी छ। त्यसअघि गृहसचिव र आईजीपी बर्खास्त गर्न अनिवार्य छ। भ्रष्टाचारको विरुद्ध सुशासन कायम गरी जनमतको कदरका लागि यो कदम उठाउनु पर्छ।’

आफू दरिलो प्रहरी संगठनको पक्षमा रहेको बताउँदै सुनारले केही व्यक्तिले गरेको बदमासीको भार सिङ्गो संगठनलाई बोकाउन नहुने बताएका छन्। ‘कर्मठ र गौरवशाली प्रहरी र संगठनको मनोबल उच्च राख्न केही मान्छेले गरेको बदमासीको भारी सिङ्गो संगठनलाई बोकाउनु हुँदैन,’ उनले भनेका छन्।

केही दिनअघि सार्वजनिक लेखा समितिमा परेको उजुरीलाई लिएर सुनारले आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीमुक्त गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका थिए। तर, बेनामे उजुरीका आधारमा राज्यका महत्वपूर्ण निकायमा जिम्मेवारीमा रहेका व्यक्तिमाथि कारबाही गर्न नहुने र आफूखुसी न्यायाधीश बन्न नमिल्ने भन्दै सत्तारूढ सांसद सुनारको मागको गृहमन्त्री सुधन गुरुङसहितले प्रतिवाद गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७