वैदेशिक सहायता एउटै डालोमा राख्दा भ्रम सिर्जना भयो : अर्थमन्त्री स्वर्णिम वाग्ले

ऋण, अनुदान र आईएनजीओको सहायता छुट्टाछुट्टै हेर्नुपर्छ


२०८३ भदौ ४ बिहीबार १४:२७ बजे

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा वैदेशिक सहायताको लेखापरीक्षणबारे छलफल गर्दै अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमा वैदेशिक ऋण र अनुदानको अवस्थाबारे जानकारी गराएका हुन्।

उनका अनुसार यस वर्ष २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमा वैदेशिक ऋण २४८ अर्ब रुपैयाँ लिने लक्ष्य राखिएको छ। वैदेशिक ऋण र अनुदानतर्फ एमसीएलगायतलाई समेत समेट्दा करिब ६२ अर्ब रुपैयाँ रहेको उनले बताए। विगत पाँच–सात वर्षदेखि बजेटमा ४८ देखि ५२ अर्ब रुपैयाँसम्म अनुदान प्राप्त हुने अनुमान गरिए पनि वास्तविक रूपमा १० देखि १५ अर्ब रुपैयाँभन्दा बढी अनुदान नआएको उनको भनाइ छ।

वाग्लेले आईएनजीओ, द्विपक्षीय अनुदान तथा बहुपक्षीय निकायबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई एउटै डालोमा राखेर हेर्दा वैदेशिक सहायताबारे धारणा बाझिएको जस्तो देखिएको बताए। ‘यसलाई टुक्राएर नै हेर्नुपर्ने हुन्छ,’ उनले भने। अर्थमन्त्री वाग्लेले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको योगदानबारे छुट्टै बहस आवश्यक रहेको बताए। वैदेशिक सहायता कति रणनीतिक छ, दातृ निकायका आफ्नै स्वार्थ कति जोडिएका छन् र कति सहायता नेपालको विकासका लागि आएको हो भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने उनको भनाइ छ।

उनले सन् १९९९ पछि एनजीओ तथा आईएनजीओ क्षेत्रमा ठूलो परिवर्तन आए पनि उनीहरूले राम्रो योगदानसमेत दिएको बताए। पछिल्लो समय भने आईएनजीओको फन्डिङसमेत निकै घटेको उनले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७