अब गभर्नरको कार्यकाल तीन वर्ष
नेपाल राष्ट्र बैंक ऐन संशोधनः कार्यसम्पादन राम्रो भए थप दुई वर्ष
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल अब तीन वर्ष कायम गर्ने सहमति भएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भइरहेको छलफलका क्रममा गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष बनाउने सहमति जुटेको हो।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकले उक्त सहमति गरेको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए। हाल गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल पाँच वर्षको छ। तर, नयाँ बन्ने ऐनमा प्रारम्भिक पदावधि तीन वर्षको हुने व्यवस्था राख्ने सहमति भएको छ।
डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यसम्पादन सन्तोषजनक देखिएमा नेपाल सरकारले थप दुई वर्ष पदावधि बढाउन सक्ने व्यवस्था पनि विधेयकमा राखिने भएको छ। नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा दफावार छलफल जारी रहेको छ। समितिले शुक्रबार पनि विधेयकमाथि छलफल गर्ने कार्यसूची तय गरेको छ।
.gif)

.png)

