बागमती सरकारमा मन्त्री बनेका तीन सांसदसँग राप्रपाले माग्यो १२ घण्टे स्पष्टीकरण
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा मन्त्री बनेका तीन प्रदेशसभा सदस्यसँग १२ घण्टाभित्र स्पष्टीकरण मागेको छ। राप्रपाको केन्द्रीय अनुशासन समितिले प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
राप्रपाका अनुसार यसअघि बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले निजी लेटरप्याड प्रयोग गरी पार्टीको तर्फबाट भन्दै प्रदेश सरकारलाई समर्थन गरेका थिए। पार्टीले उक्त विषयमा कारबाही गर्दै थापाको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको जानकारी गराइसकेको थियो। पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकारमा मन्त्री पदको शपथ ग्रहण गरेको भन्दै तीन प्रदेशसभा सदस्यसँग स्पष्टीकरण मागिएको राप्रपाले जनाएको छ।
पार्टीले दिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए वा पार्टी निर्णय तथा निर्देशन उल्लङ्घन गरेको ठहर भएमा उनीहरूमाथि अनुशासनात्मक कारबाही अघि बढाउने जनाएको छ।
.gif)

.png)

