सागको १४औं संस्करणको नयाँ मिति तय

आठ वर्षपछि फर्किँदै साग, अब २०२७ अप्रिलमा हुने


२०८३ भदौ ७ आइतबार १४:५५ बजे
फाइल फोटो

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १४औं संस्करण आयोजना हुने बाटो खुलेको छ । पटक–पटक मिति तोकिएर पनि प्रतियोगिता हुन नसकिरहेका बेला दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले नयाँ मिति तय गरेको हो ।

पाकिस्तानको इस्लामाबादमा सम्पन्न एसएओसीको बैठकले १४औं साग सन् २०२७ अप्रिल ३ देखि ११ सम्म आयोजना गर्ने निर्णय गरेको छ । नेपाली मितिअनुसार प्रतियोगिता २०८३ चैत २० देखि २८ गतेसम्म हुनेछ । यसअघि १४औं साग सन् २०२७ मार्चमा आयोजना गर्ने भनिएको थियो । नयाँ निर्णयसँगै प्रतियोगिता एक महिना पछि सारिएको हो ।

नेपालले सन् २०१९ मा १३औं साग आयोजना गरेपछि पाकिस्तानले १४औं संस्करणको जिम्मेवारी पाएको थियो । तर आयोजनाको मिति पटक–पटक परिवर्तन हुँदै आएपछि प्रतियोगिता निर्धारित समयमा हुन सकेन । सुरुमा १४औं साग सन् २०२३ मार्चमा गर्ने तय गरिएको थियो । त्यसपछि २०२४ मार्चमा सारियो । उक्त मितिमा पनि प्रतियोगिता हुन नसकेपछि सन् २०२६ जनवरी र त्यसपछि मार्चमा आयोजना गर्ने तयारी गरिएको थियो । ती दुवै योजना कार्यान्वयनमा आउन सकेनन् ।

सागको इतिहास हेर्दा प्रतियोगिता पछिल्लो समय नियमित हुन नसकेको देखिन्छ । हरेक चार वर्षमा आयोजना गर्ने अवधारणासहित सुरु भएको प्रतियोगिता कुनै समय दुई–दुई वर्षको अन्तरालमा समेत आयोजना भएको थियो । तर पछिल्लो दुई दशकयता भने यसको नियमितता खल्बलिएको छ । सन् २००६ मा १०औं साग आयोजना भएपछि ११औं संस्करण २०१० मा भएको थियो । त्यसपछि २०१६ मा १२औं र २०१९ मा नेपालमा १३औं साग आयोजना भएको थियो । अब एसएओसीको पछिल्लो निर्णय कार्यान्वयन भए १३औं सागपछि करिब आठ वर्षको अन्तरालमा दक्षिण एसियाली खेलकुद पुनः सञ्चालन हुनेछ ।

साग दक्षिण एसियाका राष्ट्रहरूबीच खेलकुदमार्फत सहकार्य र प्रतिस्पर्धाको प्रमुख क्षेत्र मानिन्छ । लामो समयदेखि प्रतियोगिता आयोजना हुन नसक्दा खेलाडीको तयारी, खेलकुद संरचना र क्षेत्रीय खेलकुद सहकार्यमा समेत असर परेको छ । नयाँ मिति तोकिएसँगै सम्बन्धित देशहरूले प्रतियोगिताको तयारी अघि बढाउने अपेक्षा गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७