हामी कसरी आयौं होइन, अब के गर्दैछौं भन्ने हेरिँदैछ : रवि लामिछाने
रवि भन्छन्, पुराना दललाई दोष दिएर अग्लो हुने सुविधा अब हामीलाई छैन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब पार्टीले विगतका राजनीतिक दलका कमजोरी देखाएर आफूलाई अब्बल साबित गर्ने सुविधा नरहेको बताएका छन्। उनले रास्वपा आफैं जिम्मेवार राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेकाले अबको ध्यान विगतको आलोचनाभन्दा भविष्यको योजना र कार्यसम्पादनमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले पार्टीको नेतृत्वमा रहेका नेता–कार्यकर्ताले आफ्नो भूमिकालाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनका अनुसार रास्वपाको नेतृत्वले गर्ने हरेक निर्णय र गतिविधिले पार्टीसँगै लोकतान्त्रिक व्यवस्थामाथि समेत प्रभाव पार्न सक्छ।
उनले विगतमा आफूहरूले पुराना दलका कमजोरी औंल्याएर राजनीतिक उचाइ बनाउन सके पनि अहिले त्यस्तो अवस्था नरहेको बताए। ‘हिजोसम्म पुराना दललाई दोषैदोषको चाङ देखाएर हामी अग्लो हुन सक्थ्यौँ, तर आज हामीलाई यसमा छुट छैन,’ लामिछानेले भने।
उनले पार्टी सरकारमा पुगेपछि जनताले विगतका राजनीतिक शक्तिको कामसँग तुलना गरेर मात्र नभई रास्वपाको आफ्नै कार्यसम्पादनका आधारमा मूल्यांकन गर्ने बताए। त्यसैले सरकार वा पार्टीका कारण नागरिकको विश्वास कमजोर हुने अवस्था आउन नदिन नेतृत्व सचेत हुनुपर्ने उनको भनाइ थियो।
लामिछानेले रास्वपाले अब बितेका दशकको हिसाब–किताबमा अल्झिनुभन्दा आगामी दशकका लागि स्पष्ट योजना बनाउनुपर्नेमा जोड दिए। ‘बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ,’ उनको भनाइ थियो। उनले शिक्षा, स्वास्थ्य, विकास र अर्थतन्त्रजस्ता विषयमा रास्वपाले स्पष्ट नीति निर्माण गर्नुपर्ने बताए।
राजनीतिक दलको दीर्घकालीन भविष्य लोकप्रियताले मात्र निर्धारण नगर्ने भन्दै उनले संगठन, नीति, अनुशासन र नेतृत्व क्षमताको विकास आवश्यक रहेको उल्लेख गरे। कार्यशालाका क्रममा लामिछानेले रास्वपा अझै पार्टीको जग बसाल्ने चरणमा रहेको बताए। स्थापनाकालदेखि पार्टीमा रहेका नेता, संस्थापक तथा पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वको जिम्मेवारी आगामी पुस्ताको भन्दा बढी रहेको उनको भनाइ थियो।
उनले रास्वपा जन्मिँदा नै आफूहरू अब्बल विद्यार्थीका रूपमा राजनीतिमा आएको दाबी गर्दै राजनीतिक यात्राका क्रममा केही ‘कक्षा जम्प’ भएको भए छुटेका अध्यायहरू पनि अब अध्ययन गर्नुपर्ने बताए। सरकारसम्म आइपुग्दा सिक्न बाँकी रहेका राजनीतिक तथा संगठनात्मक विषयलाई फर्केर हेर्नुपर्ने उनको भनाइ थियो।
लामिछानेले पार्टीलाई संस्थागत र दीर्घकालीन राजनीतिक शक्तिका रूपमा विकास गर्न नीति र विधिको पालना तथा संगठनात्मक अनुशासन अनिवार्य रहेको बताए। पार्टीभित्रैबाट राजनीतिक संस्कार, नेतृत्व क्षमता र संगठन सञ्चालनको अभ्यास बलियो बनाउनुपर्ने उनको जोड थियो।
उनले रास्वपा कसरी जन्मियो भन्ने विषयको व्याख्या गर्दै हिँड्नुभन्दा अहिले पार्टीले के गरिरहेको छ भन्ने कुराले महत्व राख्ने बताए। आजको सञ्चार र राजनीतिक परिवेशमा एउटा पार्टीको गतिविधिको प्रभाव स्थानीय सीमाभन्दा बाहिरसम्म पुग्ने भन्दै उनले नेता–कार्यकर्तालाई आफ्नो अभिव्यक्ति र गतिविधिप्रति थप जिम्मेवार बन्न आग्रह गरे। ‘हामी कसरी आयौँ अब त्यसको हिसाब–किताब चोकचौतारीमा दिएर हिँड्न जरुरी छैन। आइसकेपछि हामी के गर्दैछौँ ? आमनागरिकले, विश्व समुदायले हेरिरहेको छ,’ उनले भने।
रास्वपाले शनिबारदेखि केन्द्रीय सदस्यहरूका लागि ‘नीति, संगठन र नेतृत्व’ सम्बन्धी दुईदिने कार्यशाला आयोजना गरेको थियो। कार्यशालामा पार्टीको नीति, संगठन सुदृढीकरण र नेतृत्व क्षमता विकासका विषयमा छलफल गरिएको थियो।
.gif)

.png)

