जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो : ८० संक्रमित, २१ जनाको मृत्यु

ज्वरो र बेहोस हुने लक्षण देखिए तत्काल अस्पताल जान सुझाव


२०८३ भदौ ७ आइतबार २०:३८ बजे

काठमाडौं : नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) को संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागका अनुसार यस वर्ष हालसम्म देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा जेइ संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ।

परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणले जेइको जोखिमप्रति थप सतर्क हुनुपर्ने देखाएको छ। संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ। मृत्यु भएका २१ जनामध्ये पनि कसैले खोप नलगाएको महाशाखाले जनाएको छ।

झापामा सबैभन्दा बढी संक्रमण

संक्रमणको संख्या हेर्दा झापा सबैभन्दा अगाडि छ। झापामा १० जनामा संक्रमण पुष्टि भएको छ। कैलाली र मोरङमा सात/सात, सप्तरी र कञ्चनपुरमा छ/छ तथा चितवन, सुनसरी र नवलपरासीपूर्वमा पाँच/पाँच जनामा संक्रमण देखिएको छ। जेइको संक्रमण मुख्यतः तराई र भित्री मधेसका जिल्लामा देखिए पनि यसको जोखिम त्यही क्षेत्रमा मात्र सीमित छैन। इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ।

१५ वर्षमाथिका बढी संक्रमित

तथ्यांकले जेइ बालबालिकामा मात्रै हुने रोग नभएको समेत देखाएको छ। पुष्टि भएका ८० संक्रमितमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। त्यसैगरी जेइका कारण मृत्यु भएकामध्ये ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ। संक्रमितमध्ये ४३ जना पुरुष र ३७ जना महिला छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार जेइ संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। विशेषगरी धानखेत र सुँगुरपालन हुने क्षेत्र यसको जोखिममा रहने गरेका छन्। सुँगुर, बङ्गुर तथा हाँसजस्ता संक्रमित जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा जेइ भाइरस मानिसमा सर्न सक्छ।

संक्रमण गम्भीर बनेमा मस्तिष्कमा असर पार्ने भएकाले यसलाई सामान्य ज्वरोका रूपमा लिएर बेवास्ता गर्न नहुने चिकित्सकहरूको सुझाव छ। स्वास्थ्य विभागका अनुसार जेइ संक्रमित प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुन सक्ने र अर्को एक जनामा दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्या देखिन सक्ने जोखिम हुन्छ। 

खोपबाट जोगिन सकिने रोगमा बढ्दै संक्रमण

यसपटकको तथ्यांकको अर्को महत्वपूर्ण पक्ष भनेको संक्रमित र मृतकमध्ये अधिकांशले जेइ खोप नलगाएको अवस्था हो। सरकारले नियमित खोप कार्यक्रमअन्तर्गत १२ महिनाको उमेरमा बालबालिकालाई जेइ खोप दिँदै आएको छ। निर्धारित समयमा खोप छुटेको अवस्थामा पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाउने व्यवस्था छ।

परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जेइबाट सुरक्षित रहन खोपलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। छुटेका बालबालिकालाई खोप लगाउन उनले अनुरोध गरेका छन्।

ज्वरो र बेहोस हुने लक्षण देखिए तत्काल अस्पताल जान सुझाव

स्वास्थ्य अधिकारीहरूले जेइको जोखिम भएका क्षेत्रमा लामखुट्टेको टोकाइबाट जोगिन पनि आग्रह गरेका छन्। लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुका साथै उपलब्ध खोप लगाउनु रोग रोकथामको प्रमुख उपाय भएको विभागले जनाएको छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा घरमै उपचार गरेर बस्न नहुने महाशाखाको भनाइ छ।

यस्ता लक्षण देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्। पछिल्लो तथ्यांकले जेइको जोखिम बालबालिकामा मात्र नभई वयस्क र ज्येष्ठ नागरिकमा समेत रहेको देखाएकाले खोपसँगै लामखुट्टेको टोकाइबाट बच्ने उपायमा ध्यान दिनुपर्ने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७