सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच सीमा सुरक्षा सहकार्यबारे छलफल
काठमाडौं : सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच सीमा सुरक्षा तथा व्यावसायिक सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मंगलबार भारतीय एसएसबीको आन्तरिक सुरक्षा तथा रणनीति व्यवस्थापन कोर्समा सहभागी उच्चस्तरीय प्रतिनिधिमण्डलसँग विशेष व्यावसायिक अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले नेपाल–भारत सुरक्षा निकायबीचको सम्बन्ध आपसी विश्वास, सम्मान र व्यावसायिक सहयोगमा आधारित रहेको बताए। उनले यस्तो अन्तरक्रियाले समकालीन सुरक्षा चुनौती सामना गर्न दुवै पक्षबीचको सहकार्य थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले नेपाल–भारत सीमा सुरक्षा, सीमा व्यवस्थापन तथा सशस्त्र प्रहरी बलको कार्यादेशबारे प्रस्तुति दिएका थिए। सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व संकलनमा सहयोग र आन्तरिक सुरक्षामा निर्वाह गर्दै आएको भूमिकाबारे वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।
त्यस अवसरमा भारतीय एसएसबीका डीआईजी सञ्जयकुमार शर्माले सन् २००१ देखि नेपाल–भारत सीमा सुरक्षामा एसएसबी परिचालित भएको प्रसंग उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपालको व्यावसायिक प्रगतिको प्रशंसा गरे। अन्तरक्रियामा खुला सीमालाई थप सुरक्षित बनाउन सूचना आदान–प्रदान, सीमा अपराध नियन्त्रण तथा दुवै सुरक्षा निकायको संयुक्त क्षमता अभिवृद्धिका विषयमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
.gif)

.png)

