तस्करीको सामान नियन्त्रण गर्न पुगेको सशस्त्र प्रहरीमाथि तस्करको आक्रमण, दुई पक्राउ

बंकुलमा सशस्त्र प्रहरीमाथि तस्करको आक्रमण, निरीक्षकको मोबाइलसमेत खोसियो


२०८३ भदौ ४ बिहीबार १४:०७ बजे

रौतहट : रौतहटको बौधिमाई नगरपालिका–७ स्थित बंकुल बजारमा तस्करीको सामान नियन्त्रणमा लिन पुगेको सशस्त्र प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ। आक्रमणका क्रममा तस्कर समूहले प्रहरीमाथि ढुंगा प्रहार गर्नुका साथै सशस्त्र प्रहरी निरीक्षकको मोबाइलसमेत खोसेका थिए। घटना भदौ १ गते बिहान करिब ९ः५५ बजेको हो।

भारतबाट अवैध रूपमा ठूलो परिमाणमा मोटरपार्ट्स ल्याइँदै गरेको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल, बीओपी सरमुजवाबाट खटिएको टोली सामान नियन्त्रणमा लिन बंकुल बजार पुगेको थियो। विशेष सूचनाका आधारमा पुगेको टोलीले सामान नियन्त्रणमा लिन खोजेपछि तस्कर समूह आक्रोशित हुँदै प्रहरीमाथि जाइलागेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआइजी विष्णु भट्टराईले बताए।

तस्कर समूहले एक्कासि ढुंगा प्रहार गर्दा बीओपी सरमुजवाको टाटा टेल्को डबल क्याब गाडीको अगाडिको सिसा चर्किएको छ भने पछाडिको ढोकामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। ढुंगा लागेर सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र पुलामी मगरको औंलामा तथा सशस्त्र प्रहरी जवान महमद जाहुल हकको टाउको र घाँटीमा चोट लागेको छ। आक्रमणकै क्रममा तस्कर समूहले निरीक्षक पुलामी मगरको मोबाइलसमेत खोसेका थिए। केही समयपछि भने मोबाइल फिर्ता गरिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले अनुसन्धान तीव्र पार्दै भदौ ३ गते राति बौधिमाई–७ का करिब ४० वर्षीय शिवपुजन यादव र वडा नम्बर ८ का करिब ३५ वर्षीय नवल यादवलाई उनीहरूकै घरबाट पक्राउ गरेको छ। दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य ६ जना अझै फरार छन्। उनीहरूको खोजी भइरहेको छ।

पछिल्लो समय तस्करीको सामान नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीमाथि नै तस्कर समूहले आक्रमण गर्ने क्रम बढेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रौतहटको बंकुल क्षेत्र तस्करीको ‘हटस्पट’का रूपमा रहँदै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७