सशस्त्र प्रहरी स्कुलमा आर्थिक हिनामिना, लेखा प्रमुखसहित २ जना नियन्त्रणमा
काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ। सशस्त्र प्रहरी मुख्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विद्यालयको खातामा हुनुपर्ने करोडौं रुपैयाँ व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ। यस प्रकरणको मुख्य योजनाकार लेखा प्रमुख गुरुङ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
घटनाबारे सुरुमा सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनमा उनीहरू दोषी देखिएपछि फौजदारी अनुसन्धान र मुद्दा चलाउन प्रहरीलाई पत्र पठाइएको हो।
गुरुङ विगत छ वर्षदेखि उक्त विद्यालयमा लेखापालका रूपमा कार्यरत रहेको जनाइएको छ। यसै प्रकरणमा कल्याण शाखामा कार्यरत महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको छ।
.gif)

.png)

