कुमार बेनलक्षित अमरेशको आक्रोश : सिंहदरबार होइन, ज्वागलबाट सरकार चलिरहेको छ
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसदमा प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालयप्रति कडा आक्रोश पोखेका छन्। सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम नलिई उनको भूमिकामाथि प्रश्न उठाउँदै सरकारको शासकीय केन्द्र सिंहदरबार नभई ज्वागल बनेको आरोप लगाए।
‘हाम्रो प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर यो शासन व्यवस्थालाई सल्लाहकार व्यवस्थामा परिवर्तन गरिएको छ,’ उनले भने, ‘सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ, तर अहिले ज्वागल बनेको छ । देशमा हुकुमी शासन चलिरहेको छ।’ सल्लाहकारलाई संविधानले कार्यकारी अधिकार नदिएको भन्दै सिंहले कर्मचारी, प्रहरी तथा सुरक्षा निकायका प्रमुखहरूलाई सचिवालयमा बोलाएर दबाब दिने गरिएको दाबी गरे।
उद्योगमन्त्री गौरीकुमारी यादवलाई राजीनामा दिन बाध्य पारिएको दाबी गर्दै उनले यसअघि उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको विषयसमेत उठाए। प्रधानमन्त्री वा उनको सचिवालयले मन्त्रीलाई पक्राउ गर्न निर्देशन दिन मिल्छ भन्दै उनले प्रश्न गरे। सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई बोलाएर धम्की दिएको तथा एक व्यक्तिविरुद्ध दुई घण्टाभित्र रेडकर्नर नोटिस जारी गर्न आदेश दिएको दाबीसमेत गरे। यस्ता आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
त्यस्तै, प्रधानमन्त्रीका सल्लाहकार बेनले भारतीय जासुसी संस्थालाई लुकीछिपी भेटेको आरोप पनि सिंहले लगाए। उनले दिल्लीस्थित लीलाप्यालेस होटलमा बसेर त्यस्तो भेटघाट गरेको दाबी गर्दै त्यसबारे संसद सदस्यहरूलाई जानकारी नदिइएकोमा आपत्ति जनाए। ‘अथोरिटी विदाउट एकाउन्टेबिलिटी साह्रै डेन्जर हुन्छ,’ उनले भने, ‘त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन।’
सिंहले प्रधानमन्त्री शाहलाई मधेसी समुदायको समर्थनमा सरकार बनेको भन्दै मधेसीलाई दबाउने प्रयास गरे त्यसको परिणाम गम्भीर हुने चेतावनीसमेत दिए। ‘तपाईं मधेसीको बलमा सरकार ठड्याउनुभएको छ, यो तासको पत्ता हो,’ उनले भने, ‘यदि मधेसीलाई दबाउनुहुन्छ भने तपाईंको नाश लेख्या छ।’ संसदमा बोल्ने क्रममा सिंहले आफू गुटको राजनीतिमा नभई पार्टीमा विश्वास गर्ने व्यक्ति भएको पनि बताए।
.gif)

.png)

