कोशी र बागमतीमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं : मनसुनको न्यून चापीय रेखा नेपालनजिक आएसँगै देशभर वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि बढेको हो।
महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस क्रममा देशका पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने जनाइएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। लुम्बिनीका पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
यसैगरी आज काठमाडौँ उपत्यकामा समेत वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् हरिप्रसाद दाहालका अनुसार उपत्यकामा अपराह्न १–२ बजेपछि वर्षाको सम्भावना बढ्ने देखिएको छ। उनका अनुसार दिउँसोको तुलनामा राति काठमाडौँमा वर्षाको सम्भावना अझ बढी रहेको छ।
मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले वर्षासँगै नदी तथा खोलामा जलसतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो र तटीय क्षेत्रमा बाढीको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
.gif)

.png)

