चार जिल्लामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची तथा धादिङ–गोरखा सीमा क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा भएको हो।
विभागका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा मापन भएको छ। कञ्चनपुरमा शनिबारदेखि नै निरन्तर वर्षा भइरहेको जनाइएको छ। त्यस्तै, धादिङ र गोरखाको सीमा क्षेत्रस्थित आरुघाटमा १२४.४ मिलिमिटर वर्षा मापन भएको छ। सिन्धुपाल्चोकमा १२३.२ मिलिमिटर र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
सिन्धुपाल्चोकमा पछिल्ला केही दिनदेखि मध्यमदेखि धेरै भारी वर्षा हुँदै आएको छ। पछिल्लो २४ घण्टामा लुम्बिनीका केही जिल्लाका साथै गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको विभागको तथ्यांक छ। अन्य स्थानमा भने मध्यमदेखि सामान्य वर्षा भएको छ। विभागका अनुसार बिहानतिर ती क्षेत्रमा वर्षाको मात्रा केही घट्दै गएको छ।
मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी, १०० देखि २०० मिलिमिटरसम्म भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी भए अति भारी वर्षा मानिन्छ।
पछिल्लो वर्षाका कारण धेरै वर्षा भएका जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेर बाढीको जोखिमसमेत बढेको विभागले जनाएको छ। विशेषगरी कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
.gif)

.png)

