आइएमई ग्रुपको १० करोड सहयोग, विदेशबाट रेमिट्यान्स पठाउँदा शुल्क नलाग्ने
काठमाडौं : बाढी तथा विपद्बाट प्रभावितको राहत र उद्धारका लागि आइएमई ग्रुपअन्तर्गतका तथा ग्रुपसँग आबद्ध कम्पनीहरूले प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ सहयोग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी दिए।
विपद्को समयमा सरकार, निजी क्षेत्र र आम नागरिक एकजुट भएर प्रभावितको उद्धार तथा राहतमा जुट्नुपर्ने उनले बताए। ढकालका अनुसार विदेशबाट नेपालमा रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क सेप्टेम्बर १० सम्मका लागि हटाइएको छ। विदेशमा रहेका नेपालीलाई प्रधानमन्त्री राहत कोषमा सहज रूपमा रकम पठाउने वातावरण बनाउन यस्तो व्यवस्था गरिएको उनले बताए।
हालसम्म विदेशबाट करिब २० हजार कारोबारमार्फत १६ करोड रुपैयाँ कोषमा जम्मा भइसकेको ढकालले जानकारी दिए। सेप्टेम्बर १० सम्म करिब ५० हजार कारोबारबाट ३० देखि ४० करोड रुपैयाँसम्म रकम जम्मा हुने अनुमान गरिएको छ। आइएमई ग्रुपसँग आबद्ध साझेदार बैंक, वित्तीय संस्था तथा मनी ट्रान्सफर कम्पनीहरूले समेत कोषमा रकम पठाउँदा शुल्क नलिने व्यवस्था गरेको उनले बताए।
ढकालले विपद्का बेला पहिलो प्राथमिकता प्रभावितको उद्धार, घाइतेको उपचार र मृतकको शव व्यवस्थापन हुनुपर्ने बताए। त्यसपछि प्रभावितको पुनःस्थापना र क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधारको पुनर्निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
.gif)

.png)

