कोशीमा ११२ मिलिमिटरसम्म वर्षा, आज पनि मेघगर्जनसहित पानी पर्ने


२०८३ असोज २ शुक्रबार ०७:०४ बजे
फाइल फोटो

काठमाडौं : नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा संखुवासभाको टासी गाउँमा २७.९ मिलिमिटर, ताप्लेजुङको तापेथोकमा १०.४ मिलिमिटर र लुङथुङमा ७.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

पछिल्लो २४ घण्टामा झापाको चन्द्रागिरि एयरपोर्टमा ११२.२ मिलिमिटर, अनारमनी बिर्तामा ८९.६ मिलिमिटर, उदयपुरको गाइघाटमा ८६.८ मिलिमिटर र संखुवासभाको टासीगाउँमा ८२.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

शुक्रबार राति कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। राति कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

यस्तै, कोशी र गण्डकीका पहाडी भू–भागका केही स्थान तथा बागमतीका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा विभिन्न प्रदेशका तराई भू–भागका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७