मौसम बदलीसँगै वर्षा र हिमपातको पूर्वानुमान, चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज विभिन्न प्रदेशमा वर्षा र चट्याङको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल कोशी र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा पनि बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ । महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मधेश तथा कोशी र बागमतीका तराई भू–भागका थोरै स्थान र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश तथा कोशी र बागमतीका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
.gif)

.png)

