आठ सहसचिवको सरुवा, निर्णय कार्यान्वयनमा हुँदा पनि किन राखियो सूची अझै गोप्य ?


२०८३ असोज ४ आइतबार ०७:२१ बजे
फाइल फोटो

काठमाडौं : सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत आठ सहसचिवको सरुवा तथा पदस्थापन गरे पनि त्यसको औपचारिक विवरण अझै सार्वजनिक गरेको छैन। अघिल्लो मन्त्रिपरिषद् बैठकले आठ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो। 

सरुवा भएका कर्मचारीले पत्रसमेत बुझिसकेका छन्। तर त्यसपछि अर्को मन्त्रिपरिषद् बैठक बसिसक्दा पनि सरकारले सरुवाको आधिकारिक सूची सार्वजनिक नगरेको हो। सरुवा तथा पदस्थापन सरकारको नियमित प्रशासनिक प्रक्रिया हो। संगठनको आवश्यकता, रिक्त दरबन्दी, कर्मचारीको अनुभव र जिम्मेवारीअनुसार सरकारले कर्मचारीलाई एक निकायबाट अर्को निकायमा खटाउन सक्छ।

तर निर्णय भइसकेर कार्यान्वयनसमेत अघि बढिसकेको अवस्थामा सरुवाको विवरण सार्वजनिक हुन नसक्दा प्रशासनिक वृत्तमा चासो बढेको छ। पछिल्लो सरुवामा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा संवैधानिक आयोगलगायत निकाय समेटिएका छन्।

स्रोतका अनुसार नारायण रिसाल, गोकुल बास्तोला र बन्धु बास्तोलालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, राष्ट्रपतिको कार्यालयमा कार्यरत रितेशकुमार शाक्यलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको बताइएको छ।

अनिल दत्तलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अतिरिक्त समूहमा रहेका शंकरहरि आचार्यलाई राष्ट्रिय समावेशी आयोगमा पठाइएको स्रोतको भनाइ छ। यसैगरी, सुदूरपश्चिम प्रदेशमा कार्यरत राजेन्द्र हमाललाई राष्ट्रिय महिला आयोग तथा हालै गृह मन्त्रालयबाट फर्किएका भूपेन्द्र थापालाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको जनाइएको छ।

यसअघि सार्वजनिक विवरणमा थापासहित गृह प्रशासनका केही सहसचिवलाई संघीय मामिला हेर्ने मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको उल्लेख थियो। सहसचिव सरुवाको विवरण सार्वजनिक गर्न सरकारले विगतमा पनि केही समय लिने गरेको देखिन्छ। तर निर्णय भएको लामो समयसम्म सूची सार्वजनिक नहुनुलाई अहिले चासोका रूपमा हेरिएको छ।

भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले गरेको २७ सहसचिवको सरुवा तथा पदस्थापनसम्बन्धी निर्णय भदौ ८ गते सार्वजनिक गरिएको थियो। असारमा पनि विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेशमा कार्यरत १५ सहसचिवको जिम्मेवारी हेरफेर गरिएको विवरण सार्वजनिक भएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७