सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो, उद्धार जारी (तस्वीरहरु)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै सौर्य एयरलाइन्सको ९ एन एएमई विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले जानकारी दिएका छन् । सुरक्षाकर्मी र विमानस्थलका फायर फाइटरहरु आगो निभाउन लागि परेका छन् ।