‘पूर्वराजाका ज्वाइँ’ सुमेरु सहकारीका राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान


२०८१ श्रावण २८ सोमबार ११:३६ बजे
सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयर सदस्य राजबहादुर सिंह

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहको बयान लिएको छ ।

समिति सभापति सूर्य थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरेको जानकारी गराएका छन् । राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईं हुन् । बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका छन् ।

बयानका क्रममा उनले सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको सिंहले जानकारी गराएका छन् । पुल्चोकस्थित सहकारीले बचतकर्ताको रकम जोखिममा पारेको थियो । तर, पछि बचतकर्ताको रकम फिर्ता गर्ने भएपछि सहकारी ठगीको घटना सामसुम भएको थियो । समितिले यस बारेमा बुझ्नको लागि राजबहादुर सिंहलाई बोलाएको हो ।

सिंहले आफूले बचतकर्ताको विश्वास जितेर रकम फिर्ता गरेको बताएका छन् । तरलता अभाव भएको सहकारीमा आफूले निजी सम्पत्ति बेचेर रकम फिर्ता गर्ने सकारात्मक वातावरण बनाएको उनले बताएका छन् । आइतबार समितिको ३५ औं बैठकमा सुमेरु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हेमराज दाहाल, कानुनी रूपमा हाल अध्यक्ष कृष्णप्रसाद कँडेल र गत असार ३ को साधारण सभाबाट प्रस्तावित अध्यक्ष वीरेन्द्र महर्जनसँग पनि समितिले सोधपुछ गरेको थियो ।

सहकारीका पूर्व अध्यक्ष भरत महर्जन भने आफ्ना परिवारसहित विदेश गइसकेका छन् । समितिले गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीमा संलग्न विदेशमा फरार रहेका २१ जनाको नाम दिएको छ । जसमा सुमेरु सहकारी ललितपुरका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनको नाम सामेल छ ।

समितिले सहकारी ठगीमा हिरासतमा रहेका सहकारी सञ्चालकसँग पनि सोधपुछ गरिरहेको छ । शनिबार समितिले शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती गीता शर्मा, कान्तिपुर को–अपरेटिभका अध्यक्ष सीबी लामा लगायतसँग बयान लिएको थियो । समितिले गृहमन्त्री रवि लामिछाने जोडिएको सुदर्शन सहकारी र त्यसैसँग जोडिएको ग्यालेक्सी मिडियाका सम्बिन्धितसँग पनि बयान लिने तयारी गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७