चरित्रहत्याको प्रयास भएको भन्दै सन्दीप लामिछानेको आपत्ति : माफी माग्दै भिडियो डिलेट


२०८२ कार्तिक ६ बिहीबार १३:३३ बजे

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ‘प्याराडाइम टिभी’ नामक युट्युब च्यानलमाथि आफ्नो चरित्रहत्या गर्न खोजिएको आरोप लगाएका छन् । उनले उक्त च्यानलले बनाएको सामग्रीले आफ्नो सम्मान, गोपनीयता र मानसिक शान्तिमा चोट पुर्‍याएको दाबी गरेका हुन्।

‘भाइटिका वा डेट’ नामक सेगमेन्टमा सहभागी महिला अतिथिहरूले सन्दीपको विगतका कानुनी मुद्दा र निजी जीवनबारे टिप्पणी गरेपछि उक्त भिडियो विवादमा आएको हो। सामाजिक सञ्जालमा त्यसबारे तीव्र प्रतिक्रिया आएको छ।

भिडियो सार्वजनिक भएपछि सन्दीपले फेसबुकमा लेखेका छन्, 'कसैको जीवनमाथि व्यङ्ग्य र मजाक गर्नु लाजमर्दो व्यवहार हो। मेरो व्यक्तिगत जीवनमाथि नियोजित रूपमा आक्रमण गरिएको छ।' उनले च्यानल र अतिथिलाई सीमा ननाघ्न चेतावनी पनि दिएका छन्।

चर्को आलोचनापछि प्याराडाइम टिभीले माफी माग्दै भिडियो युट्युबबाट हटाएको छ । सार्वजनिक विज्ञप्तिमा च्यानलले लेखेको छ, 'भिडियोमा सन्दीप लामिछानेको नाम रमाइलो सन्दर्भमा प्रयोग गर्नु हाम्रो गल्ती थियो। कसैलाई लक्षित गर्ने वा अपमान गर्ने उद्देश्य थिएन।'

प्याराडाइमले उक्त विषयलाई गम्भीर रूपमा लिँदै भिडियो पुनः समीक्षा भइरहेको र भविष्यमा जिम्मेवार सामग्री तयार गर्ने प्रतिबद्धता जनाएको छ। साथै, दर्शकहरूलाई घृणा फैलाउने माध्यम नबनाउन आग्रह गरेको छ । 

सन्दीप विगतमा बलात्कार आरोपबाट निर्दोष ठहरिएका क्रिकेटर हुन्। अहिले पुनः उनको नाम लिएर गरिएको टिप्पणीले मानसिक रूपमा असर पुर्‍याएको भन्दै समर्थकहरूले असन्तोष व्यक्त गरेका छन्।

यसैबीच, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम विराटनगर किंग्सले पनि सन्दीपको समर्थन गरेको छ। कप्तान समेत रहेका सन्दीपको पक्षमा टिमले भनेको छ, ‘सन्दीप केवल नेपाली क्रिकेटको एउटा नाम मात्र होइन- उनी मेहनत, धैर्य र अद्वितीय प्रतिभाको प्रतीक हुन् ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७