सरकारी सेवामा प्रवेश गरेको चार महिनामै अस्ताए २१ वर्षे आयुष

खरिदारमा नाम निकालेर पहिलो पोष्टिङ टिमुरेमा भएको थियो


२०८३ भदौ १५ सोमबार १३:४० बजे

काठमाडौं : लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा पहिलो पाइला टेकेका सल्यानका २१ वर्षीय आयुष खड्काको जीवन विनाशकारी बाढीसँगै टुंगिएको छ। गत वैशाखमा पहिलो सरकारी पोस्टिङका रूपमा रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालय पुगेका आयुष भदौ १० गते आएको बाढीमा परेका थिए। 

स्नातक तहको परीक्षा दिन भदौ १६ गते घर फर्कने तयारीमा रहेका उनी बाढीपछि सम्पर्कविहीन भएका थिए। पाँच दिनपछि उनको शव फेला परेको थियो। शवको अवस्था बिग्रँदै गएकाले घरसम्म लैजान सम्भव नभएपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमा अन्त्येष्टि गरिएको उनका काका रमेश खड्काले बताए।

बागचौर नगरपालिका–१०, पिपलनेताका आयुष परिवारका जेठा छोरा थिए। अध्ययनमा विशेष रुचि राख्ने उनी खरिदार पदमा मात्र सीमित नभई भविष्यमा अधिकृत बन्ने लक्ष्यसहित सरकारी सेवामा प्रवेश गरेका थिए। बाढीमा आयुष परेको खबरले परिवारमा ठूलो बज्रपात परेको थियो। 

उनको मृत्युको खबरपछि आमा मुना अचेत अवस्थामा पुगेकी थिइन्। सोमबार देवघाटमा अन्त्येष्टि भइरहँदा पनि आमा र बहिनी आयुषा अर्धमूर्छित अवस्थामा पुगेका थिए। सरकारी सेवामा प्रवेश गरेको केही महिनामै ज्यान गुमाएका आयुषको अधुरो सपना र असामयिक मृत्युले परिवार तथा आफन्तलाई शोकमा डुबाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७