भोटेकोसी बाढी

६२६ जनाको मृत्यु, २ हजार ४२६ अझै सम्पर्कविहीन

सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक


२०८३ भदौ १३ शनिबार १२:४४ बजे

काठमाडौं :  चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार (भदौ १३) बिहान १० बजेसम्म देशका विभिन्न जिल्लाबाट ६२६ शव फेला परेका छन्।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। जिल्लागत विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १५८, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४७, तनहुँमा ३१ र चितवनमा २३३ शव फेला परेका छन्। चितवनमा फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन्।

बाढीपछि अझै २ हजार ४२६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयमा कार्यरत व्यक्तिहरू छन्।

सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक रहेका छन्। त्यस्तै नेपाल भ्रमणमा आएका तथा विदेशमा बसोबास गर्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढीमा परी घाइते भएका १०१ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

भदौ १० गते बिहान चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीपछि बेपत्ता तथा सम्पर्कविहीनको खोजी र उद्धार कार्यलाई तीव्रता दिइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७