आङ्देम्बेको नौबुँदे माग : छुट्टाछुट्टै हेलिकोप्टर युनिट बनाऊ, अन्तर्राष्ट्रिय उद्धार टोली बोलाऊ
‘रसुवा-नुवाकोटमा छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट, क्षतिग्रस्त पुलमा बेलीब्रिज र अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न माग’
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको करिब आधा घण्टाको भेटमा आङ्देम्बेले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर काठमाडौं फर्किएका आङ्देम्बेले स्थानीय तहसँग प्रभावकारी समन्वय गरी उद्धार तथा राहत अभियानलाई तीव्र बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। उनले यसअघि गृहमन्त्री सुधन गुरुङसँग पनि भेट गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराएका थिए।
आङ्देम्बेले बुझाएको ध्यानाकर्षणपत्रमा रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न माग गरिएको छ।पत्रमा नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको उल्लेख गर्दै हवाई उद्धारलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्न आग्रह गरिएको छ।
त्यस्तै, रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध सडक तत्काल सफा गरी यातायात सञ्चालन गर्न तथा क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलीब्रिज जडान गर्न माग गरिएको छ। अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा यथाशीघ्र सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
१. छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट
रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न माग गरिएको छ। नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहे पनि हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने आङ्देम्बेको माग छ।
२. सडक र पुल तत्काल सञ्चालन
रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक तत्काल सफा गरी आवागमन सञ्चालन गर्न तथा क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये कम्तीमा ७ स्थानमा तत्काल बेलीब्रिज जडान गर्न माग गरिएको छ।
३. विद्युत् र सञ्चार सेवा सुचारु
अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा तत्काल सञ्चालन गरी उद्धार, राहत तथा समन्वयलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
४. बेपत्ताको खोजी र शव व्यवस्थापन तीव्र
बाढीले बगाएर ल्याएका शव विभिन्न स्थानमा छरिएर रहेको भन्दै स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शवको पहिचान तथा उचित व्यवस्थापनलाई तीव्र बनाउन माग गरिएको छ।
५. उद्धार गरिएकालाई काठमाडौंसम्म ल्याउने व्यवस्था
सुरक्षित स्थानमा उद्धार गरिएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउन यातायातको व्यवस्था गर्न माग गरिएको छ।
६. घाइते र ज्येष्ठ नागरिकको उपचारमा प्राथमिकता
नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्न र ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराउन माग गरिएको छ।
७. स्थानीय तहसँग प्रभावकारी समन्वय
उद्धार तथा राहतमा स्थानीय सरकारसँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ। राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई आवश्यक सहजीकरण गर्नसमेत माग गरिएको छ।
८. अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन
सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन माग गरिएको छ।
९. नदी क्षेत्रमा तुइनको व्यवस्था
त्रिशूलीलगायत नदी क्षेत्रमा आवतजावतका लागि तुइनको शीघ्र व्यवस्था गर्न माग गरिएको छ। विपद्को कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकतामा राख्दै उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र बनाउन सरकारको विशेष ध्यानाकर्षण गराइएको आङ्देम्बेले बताएका छन्।
आङ्देम्बेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र :
सम्माननीय प्रधानमन्त्रीज्यू,
विषय : भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा स्थलगत रूपमा देखिएका समस्या समाधानका लागि सरकारको तत्काल ध्यानाकर्षण गराउन चाहन्छु।
१. हवाई उद्धारलाई थप प्रभावकारी बनाइयोस्। नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ। तर, रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस्।
२. सडक र पुल तत्काल सञ्चालनमा ल्याइयोस्। रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सफा गरी आवागमन सुचारु गरियोस्। क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलीब्रिज जडान गरियोस्।
३. विद्युत् र सञ्चार सेवा तत्काल सुचारु गरियोस्। अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाइयोस्।
४. बेपत्ताको खोजी र शव व्यवस्थापन तीव्र पारियोस्। बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान र उचित व्यवस्थापन गरियोस्।
५. उद्धार गरिएका नागरिकको यातायात व्यवस्था गरियोस्। सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउने यातायातको व्यवस्था गरियोस्।
६. घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिइयोस्। नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्। ज्येष्ठ नागरिकका लागि समेत पर्याप्त शय्या उपलब्ध गराइयोस्।
७. स्थानीय तहसँग प्रभावकारी समन्वय गरियोस्। उद्धार तथा राहतमा स्थानीय सरकारसँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाओस्। राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई समेत सहजीकरण गरियोस्।
८. अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस्। सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिइयोस्।
९. त्रिशूलीलगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गरियोस्।
विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्र बनाउन सरकारको विशेष ध्यानाकर्षण गराउँदछु।
भीष्मराज आङ्देम्बे
नेता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस
मिति : २०८३/०५/१३
.gif)

.png)

