बाढीले ल्याएको सेफ फोडेर पैसा चोरी, २९ पक्राउ
९२ लाख ६८ हजार बरामद
काठमाडौं : रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ।
बाढीले बगाएर ल्याएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा स्थानीयले फेला पारेका थिए। स्थानीयले सेफ तोडफोड गरी त्यसमा रहेको नगद आफूखुसी निकालेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचना पाएपछि प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर उनीहरूको साथबाट उक्त रकम बरामद गरिएको धादिङ प्रहरीका डीएसपी प्रकाश दाहालले जानकारी दिए।
पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ मासटारका २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर रानामगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ र ३१ वर्षीय विष्णुमणि अधिकारीलगायत २९ जना छन्।
प्रहरीका अनुसार बरामद नगदको वास्तविक स्रोत तथा घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान भइरहेको छ। 'उक्त नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ। बरामद नगद र नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ,' प्रहरीले जनाएको छ।
.gif)

.png)

