एमाले र प्रलोपाबीचको केन्द्रीय सहकार्य, जिल्लाबाट अस्वीकृत
काठमाडौँ : नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच भएको चुनावी सहकार्यको सहमति एमाले रुकुम पूर्वले अस्वीकार गरेको छ ।
एमालेका तर्फबाट रुकुम पूर्वमा उम्मेदवार बनेका लिलामणि गौतमले सामाजिक सञ्जालमार्फत सहमति नमान्ने सङ्केत गरेका छन्। रुकुम पश्चिममा भने सचिवालय बैठकबाट सहमति अनुमोदन गरिएको छ।
रुकुम पूर्वका एमाले उम्मेदवार गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘जिल्ला जाने र चुनाव जितेर आउने’ भनेर शुभकामना दिएको छोटो भिडियो सामाजिक सञ्जालमा राखेका छन्। सोही पोस्टमा उनले लेखेका छन्, ‘केही दिनयता रुकुम पूर्वको निर्वाचनका विषयमा आएका हल्ला र प्रचारका विषयमा आजदेखि स्पष्ट भएको छ । रुकुम पूर्वमा ढुक्कसँग सूर्य चिन्हमा मतदान गर्न पाइन्छ आजैदेखि प्रचार र तयारीमा उत्साहित भएर जुटौँ ।’
यता, रुकुम पश्चिमले भने सो सहमति अनुमोदन गरेको छ। मुसिकोटस्थित एमाले पार्टी कार्यालयमा मंगलबार बसेको जिल्ला कमिटी सचिवालय बैठकले प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सघाउने निर्णय गरेको छ । सहमति अनुसार अघि बढ्ने निर्णय गरिएको हो।
गत आइतबार रुकुम पूर्व र पश्चिममा एमालेका उम्मेदवारले प्रलोपाका उम्मेदवारलाई सघाउने र कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्ला तथा साबिक राप्ती अञ्चलका जिल्लामा प्रलोपाले एमाले उम्मेदवारलाई सघाउने केन्द्रीय सहमति भएको थियो।
.gif)

.png)

