बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दलका उम्मेदवारहरूलाई चुनावसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै भने, '२५ हजारभन्दा बढीको आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्छ र सोही खाताबाट खर्च गर्नुपर्नेछ।'
आयोगले आदेश दिएको खण्डमा, खर्चको बिल र खाताको विवरण पेश गर्नुपर्ने पनि स्पष्ट गरेको छ । यसैगरी, चुनाव प्रचारका क्रममा प्रचलित सङ्घीय कानुन र आचारसंहिता उल्लङ्घन गर्ने कुनै पनि खर्चको प्रयोजनका लागि आर्थिक सहयोग लिन वा खर्च गर्न नहुने निर्देशन दिइएको छ ।
आयोगले निर्वाचन प्रचारप्रसारका लागि दल वा उम्मेदवारलाई निर्वाचन घोषणापत्र बनाइ त्यसको आधारमा प्रचार गर्नुपर्ने पनि उल्लेख गरेको छ । यसैगरी, चुनाव प्रचारको कुनै पनि गतिविधिमा भेष्ट, टिसर्ट, मास्क, झोला, टोपी लगायतका प्रचार सामाग्री प्रयोग गर्न नहुने कुरा पनि आयोगले दललाई सचेत गराएको छ ।
आयोगको निर्देशन अनुसार, दलले चुनाव प्रचारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोगमा बुझाउनुपर्नेछ ।
.gif)

.png)

