बालेन शाहलाई संसदीय इतिहासकै सर्वाधिक मत
काठमाडौं : प्रतिनिधि सभा निर्वाचन इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वाधिक मत ल्याएर सांसद निर्वाचित भएका छन् ।
बालेन शाहले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । शाहले ६८ हजार ३४८ मत प्राप्त गरे । नेकपा एमालेका अध्यक्ष ओली १८ हजार ७३४ मतमा सीमित भए । शाहले ओलीलाई ४९ हजार ६१४ मतको अन्तरले हराएका छन् ।
बालेन शाहले संसदीय निर्वाचनको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने इतिहास रचेका छन् । यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट ओलीले ५७ हजार १३९ मत प्राप्त गरेर निर्वाचित भएका थिए। त्यस्तै, २०७४ को निर्वाचनमा दोलखा क्षेत्रबाट एमालेका पार्वत गुरूङले ५५ हजार ३६१ मत ल्याएर जित हासिल गरेका थिए।
२०८० को उपनिर्वाचनमा चितवन–२ बाट रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर सांसद बनेका थिए । यस पटक, लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन् .
यसैगरी, मोरङ–६ मा रास्वपाकी रूविना आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी छन् । काभ्रे–२ मा बदनकुमार भण्डारीले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका छन् र रूपन्देही–२ मा सुलभ खरेलले ५६ हजार ५५० मत ल्याएर निर्वाचित भएका छन् ।
.gif)

.png)

