कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६-१९ मा हुने


२०८२ चैत १२ बिहीबार ०४:५९ बजे

काठमाडौँ : नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेसँगै विस्तृत तालिका सार्वजनिक गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक विशेष अभियान सञ्चालन गरिनेछ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ भने वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइने व्यवस्था गरिएको छ।

वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका ६ हजार ७४३ वडामा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। सदस्यले आफू आवद्ध वडाबाटै सदस्यता अद्यावधिक गर्नुपर्ने प्रावधान राखिएको छ। सोही अवधिमा वडास्तरमा एकमहिने अद्यावधिक अभियान सञ्चालन गरिनेछ।

कार्यतालिकाअनुसार जिल्लास्तरीय प्रारम्भिक छानबिन समितिमा परेका उजुरीमाथि छानबिन गरी जेठ मसान्तसम्म केन्द्रमा पठाउनुपर्नेछ। केन्द्रले आवश्यक छानबिन गरी असार १५ गतेभित्र सदस्यताको टुङ्गो लगाउने समयसीमा तोकेको छ।

अद्यावधिक क्रियाशील सदस्यहरूको नामावली असार मसान्तसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ। सभापतिबाट प्रमाणित अन्तिम नामावली अधिवेशन प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन समितिलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।

कार्यतालिकाअनुसार भदौ २ गतेभित्र सबै वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। भदौ ७ गते गाउँ तथा नगरपालिका अधिवेशन, भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन हुनेछ। असोज २ र ३ गते जिल्ला अधिवेशन सम्पन्न गरिनेछ।

यससँगै महाधिवेशनसम्बन्धी अन्य कार्यक्रमसमेत तय गरिएको र कुल १६ वटा निर्णय गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७