जबरजस्ती विशेष महाधिवेशन गरेर धेरै साथीलाई बाहिर राखियो, अदालतको निर्णय मान्छु : देउवा
‘गुहेश्वरीबाट बिहे गरेको हुँ, म हिन्दु हुँ, हिन्दु हुँ’
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयले पटक–पटक आफूलाई न्याय दिएको बताएका छन् । संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेला/सम्मेलनको समापन समारोहमा बोल्दै देउवाले आफूलाई विगतदेखि नै अदालतले न्याय दिँदै आएको दाबी गरे ।
‘अझै हामीले मुद्दा हालेका छौं अदालतमा। मैले विशेष महाधिवेशन गर्न मानेको थिइनँ। मैले भनेको थिएँ- पार्टीका सबैको सहमतिले विशेष महाधिवेशन गरौं यसरी नगरौं भनेर। जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियो। त्यसको खिलापमा हामीहरू अदालत गयौं,’ उनले भने, ‘मलाई विश्वास छ- अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्यसअघि मैले धेरै अदालतको विषयमा धेरै बोल्नु छैन। अदालतलाई विश्वास गर्दै अदालतको कुरा मान्छु।’
देउवाले कांग्रेसको विशेष महाधिवेशनका विषयमा आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको बताए । गत पुसमा आयोजित विशेष महाधिवेशनमा देउवा सहभागी भएका थिएनन् ।
एकक व्यक्तिले देउवालाई सनातन हिन्दु राष्ट्रका विषयमा आफ्नो धारणा राखिदिन आग्रह गर्दै लिखित सुझावसमेत दिएका थिए ।भने, 'साथीले लेखेर दिनुभएको छ । सनातन हिन्दुका बारेमा केही बोलिदिनुपर्यो भन्नुभएको छ । म हिन्दु हुँ । ब्रतबन्ध पनि हिन्दु संस्कार अनुसार भएको हो । बहिनीको बिहे पनि हिन्दु संस्कार अनुसार भएको हो, मैले बिहे पनि गुहेश्वरीमा हिन्दु धर्मअनुसार गरेको हुँ । नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हुँ । म हिन्दु हुँ, हिन्दु, पशुपति जान्छु, पूजा गर्छु । म हिन्दु हुँ । बुद्धका प्रति माया छ । संसारले मानेको छ । वैज्ञानिक धर्म पनि भनेको छ ।'
देउवाले विमानस्थलदेखि भेलास्थलसम्म आएर आफूलाई सद्भाव र समर्थन जनाउनेहरूलाई कहिल्यै बिर्सन नसक्ने पनि बताए ।
.gif)

.png)

