‘अध्यक्ष हटाउने’ कुरा सडकछापहरूको हो : ओली

‘अध्यक्ष हटाउने भन्ने एउटा कुरा छ नि, सडकछाप कुरा । यो कुरामा त म धेरै छलफल पनि गर्न चाहन्नँ’


२०८३ श्रावण ३१ आइतबार १७:५५ बजे

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्षबाट आफूलाई हटाउने चर्चा चलिरहेका बेला त्यसको आधार र प्रक्रिया नै के हो भन्दै प्रश्न गरेका छन् । झापाको बिर्तामोडमा आयोजित मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै ओलीले पार्टीको कार्यकर्तापंक्ति आफूलाई अध्यक्षबाट हटाउने पक्षमा नरहेको दाबी गरे ।

ओलीले आफूलाई अध्यक्षबाट हटाउनुपर्छ भन्ने चर्चा आफूले सुनेको भन्दै त्यस्तो कुरा गर्नेहरूलाई व्यंग्यात्मक शैलीमा प्रश्न गरे । उनले पार्टी अध्यक्ष हटाउने कुरा कहाँबाट र कसले गर्ने भन्ने प्रश्न गर्दै कार्यकर्ताको समर्थनबिना नेतृत्व परिवर्तन सम्भव नभएको बताए ।

'सुन्छु म– अध्यक्ष हटाउनुपर्छ । कठै बरा । यस्तो बेलामा केही नलागेर अध्यक्ष हटाउने । घर गएर हटाउने ? कहाँबाट हटाउने ? कसले भनेर हटाउने ? कार्यकर्ता पंक्ति त अध्यक्ष हटाउन तयार छैन । कसरी हटाउने ?' ओलीले भने ।

उनले अहिले पार्टीभित्र अनावश्यक विवाद र नेतृत्व परिवर्तनको बहसमा अल्झिनुभन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए । ओलीले नहुने कुराका पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै प्रतिक्रियावादी शक्तिविरुद्ध एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।

ओलीले पार्टी र आन्दोलनमा विगतमा पनि विभिन्न चरणमा पुनर्गठनको काम भएको उल्लेख गरे । उनले आन्दोलनलाई तीनपटक पुनर्गठन गरिएको दाबी गर्दै अहिले पुनर्गठनको चर्चा चलिरहेकोप्रति भने असन्तुष्टि जनाए । उनका अनुसार अहिले पार्टीभित्र उठिरहेको ‘पुनर्गठन’को बहसको एउटा प्रमुख विषय आफूलाई अध्यक्षबाट हटाउने भन्ने रहेको छ ।

'पुनर्गठनको चर्चा चलिरहेको छ । पुनर्गठन भनेको के हो ? पुनर्गठन भनेको एउटा कुरा त म त्यति चर्चा गर्न पनि चाहन्नँ । अध्यक्ष हटाउने भन्ने एउटा कुरा छ नि, सडकछाप कुरा । यो कुरामा त म धेरै छलफल पनि गर्न चाहन्नँ,' ओलीले भने ।

उनले आफूलाई अध्यक्षबाट हटाउने विषयलाई पार्टीको आवश्यकता वा परिस्थितिको मागका रूपमा लिन नसकिने बताए । यस्तो माग स्वार्थी र महत्त्वाकांक्षी व्यक्तिहरूबाट आएको ओलीको दाबी छ । पार्टीको नेतृत्व परिवर्तनको विषयलाई व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षासँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो ।

ओलीले पार्टीमा अहिले पुनर्गठन आवश्यक नरहेको समेत स्पष्ट पारे । उनका अनुसार एमालेले अहिले आफूलाई कमजोर बनाउने वा संगठनलाई विभाजित गर्ने दिशामा जानुभन्दा पार्टीलाई थप सक्रिय, सुदृढ र ऊर्जाशील बनाउनुपर्ने आवश्यकता छ ।

उनले पार्टीमा ‘पुनर्गठन’ नभई ‘पुनर्जागरण’ आवश्यक रहेको बताए । पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ ऊर्जा र उत्साहका साथ संगठन निर्माणमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

ओलीले एमालेविरुद्ध विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यस्ता शक्तिको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आपसी विवादमा केन्द्रित नभई संगठन विस्तार, जनसम्बन्ध र राजनीतिक अभियानमा जुट्न आग्रह गरे ।

बिर्तामोडबाट सुरु गरिएको मिसन पार्टी जागरण अभियानमार्फत एमालेको संगठनलाई थप चलायमान बनाउने र कार्यकर्तालाई राजनीतिक रूपमा सक्रिय बनाउने उद्देश्य रहेको उनले बताए । अभियानका क्रममा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक चुनौतीका विषयमा कार्यकर्तासँग छलफल गरिने बताइएको छ ।

ओलीले एमालेको नेतृत्व र पार्टीको वर्तमान दिशाप्रति उठिरहेका प्रश्नहरूलाई पार्टीभित्रैबाट समाधान गर्नुपर्ने संकेत गर्दै नेतृत्व परिवर्तनको बहसमा समय खर्चिनुभन्दा संगठनलाई बलियो बनाउने काममा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७