अहिले कहाँ छन् बिचौलिया भट्टको ‘मास्टरमाइन्ड’ भारतीय नागरिक उपेन्द्र हिरावत ?
भट्टको ठगी र आर्थिक अपराधका ‘मास्टरमाइन्ड’ इन्फिनिटी होल्डिङ्सका निर्देशक भारतीय नागरिक हिरावतले काठमाडौंलाई केन्द्र बनाएर विदेश दौडाहा गर्ने गरेका छन् । उनी गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङदेखि शेरबहादुर देउवा र डा. आरजु राणाको समेत साझेदार हुन् ।
काठमाडौं : विवादित विचौलिया दीपक भट्टको ठगी र आर्थिक अपराधमा साझेदारी भएका अनेकन पात्रहरुको नाम सार्वजनिक भइरहेको बेला प्रमुख साझेदार ‘मास्टरमाइन्ड’को नाम भने चर्चामा आएको छैन । त्यो नाम हो, दीपक भट्ट अध्यक्ष रहेको इन्फिनिटी होल्डिङ्सका निर्देशक भारतीय नागरिक उपेन्द्र हिरावत ।
इन्फिनिटी होल्डिङ्स भट्टको प्रमुख कम्पनी हो । यो मार्फत भट्टले जलविद्युत, बीमा, सिमेन्ट, स्टिल, र घरजग्गा जस्ता विभिन्न क्षेत्रमा लगानी फैलाएको छन् । यही मार्फत भट्टले जलविद्युत आयोजनाहरू, सिमेन्ट उद्योग, सरकारी र सुरक्षा निकायका ठूला ठेक्काहरूमा लिदै आएका छन् ।
.jpeg)
त्यही इन्फिनिटी होल्डिङ्सका निर्देशक हुन्, भारतीय नागरिक उपेन्द्र हिरावत । स्रोतका अनुसार उपेन्द्र हिरावत भट्टको ठगी र आर्थिक अपराधका ‘मास्टरमाइन्ड’ हुन् । भट्ट उनै हिरावत मार्फत हङकङ, सिंगापुर, दुबई, बैंककमा स्थायी सम्पत्ति राखेका छन् । भट्टको साझेदारीमा हिरावतले हङकङमा आफ्नो नाममा २ कम्पनी समेत खोलेका छन् ।
हङकङमा रहेको निहाल ट्रेडिङ र म्याकलेल सर्भिस प्रालिबाट उनीहरुले अवैध आर्थिक कारोबार गर्ने गरेको उच्च अधिकारीहरुको भनाई छ। त्यो रकमलाई वैध बनाउन स्टक मार्केटमा लगानी गर्ने र नाफा देखाउने प्रवृत्ति समेत रहेको स्रोतको दाबी छ ।
आरजुसँग पनि साझेदारी
जेनजी आन्दोलनको राजनीतिक फेरबदलपछि उपचारका लागि विदेशमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवासँग इन्फिनिटी होल्डिङ्सका निर्देशक उपेन्द्र हिरावतको सम्बन्ध 'व्यावसायिक' रहेको खुल्न आएको छ। उच्च सरकारी अधिकारीहरूका अनुसार हिरावतले हङकङलाई केन्द्र बनाएर देउवा परिवारको आर्थिक व्यवस्थापन गरिरहेको आशंका गरिएको छ।
उच्च स्रोतले दिएको जानकारीअनुसार हङकङमा सञ्चालित निहाल ट्रेडिङ र म्याकलेल सर्भिस प्रालिमा देउवा पत्नी डा. आरजु राणाको लगानी रहेको दाबी गरिएको छ। यी कम्पनीहरूमार्फत हुने आर्थिक कारोबारमा हिरावतको भूमिका मुख्य रहेको बुझिएको छ।
नेपालमा दीपक भट्ट हिरासतमा परेपछि यो समूहको राजनीतिक सम्बन्धहरू एकपछि अर्को गर्दै खुल्न थालेका छन्। भारतीय नागरिक हिरावतले देउवा परिवारसँगको निकटतालाई प्रयोग गर्दै हङकङ जस्ता अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रमा आर्थिक साम्राज्य विस्तार गरेको र त्यसको व्यवस्थापनमा प्रत्यक्ष संलग्न रहेको अनुसन्धान अधिकारीहरूको बुझाइ छ।
.jpg)
‘हामी नेपाल’को कार्यक्रममा दीपक भट्ट, उपेन्द्र हिरावत र सुलभ अग्रवाल
काठमाडौंलाई केन्द्र बनाएर विदेश दौडाहा
अध्यागमन विभागको पछिल्लो विवरण अनुसार, हिरावतको विदेश भ्रमणको शृङ्खला निकै बाक्लो छ। पछिल्लो पटक उनी ४ मार्चमा थाइल्याण्ड प्रस्थान गरी ११ मार्चमा स्वदेश फर्किएका थिए। त्यसअघि, १७ डिसेम्बरमा टर्की पुगेका उनी २९ डिसेम्बरमा काठमाडौं ओर्लिएका थिए। रोचक कुरा त के छ भने, ४ डिसेम्बरमा थाइल्याण्डबाट फर्किएको मात्र ४ दिनपछि उनी पुनः टर्की प्रस्थान गरेको रेकर्डले देखाउँछ।
काठमाडौं ट्रान्जिट, गन्तव्य अनेक
हिरावतले २८ नोभेम्बरमा मलेसियाको दुई दिने छोटो यात्रा समेत गरेका थिए। यसका साथै उनले पटक–पटक भारत र यूएई (दुबई) को यात्रा गरेको देखिन्छ। भारतीय नागरिक भए पनि उनले आफ्ना अधिकांश वैदेशिक भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नै 'ट्रान्जिट' वा केन्द्र बनाउँदै आएका छन्।
भट्ट हिरासतमा, हिरावत मैदानमा
अध्यागमनको रेकर्ड अनुसार दीपक भट्ट पक्राउ पर्नुअघि हिरावत काठमाडौंमै थिए। यतिबेला भट्ट अनुसन्धानका लागि हिरासतमा रहँदा बाहिर रहेका हिरावतले विभिन्न शक्ति केन्द्रहरूमा 'सेटिङ' र चलखेल गरिरहेको स्रोतको दाबी छ।
इन्फिनिटी होल्डिङ्सका मुख्य व्यक्ति नै हिरासतमा पुगेको अवस्थामा, सोही समूहका अर्का प्रभावशाली निर्देशकको यो तहको अस्वाभाविक सक्रियता र भ्रमण इतिहासलाई लिएर अनुसन्धानकारी निकायले सूक्ष्म निगरानी बढाइरहेको बुझिएको छ।
.gif)

.png)

