विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
काठमाडौँ, ७ असार: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका नाममा लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीका २८ वर्षीय सन्तोष अधिकारी, दाङका २९ वर्षीय हेमन्त केसी, सुनसरीका ४२ वर्षीय सुकदेव राई, सोही जिल्लाका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका ४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका छन्। यो जानकारी उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले दिए ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूले विभिन्न देशमा पठाइदिने प्रलोभन देखाएर पीडितहरूबाट रकम असुली सम्पर्कविहीन भएका थिए। जसमध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १० लाख, हेमन्तले क्रोएसिया पठाउने भन्दै १३ लाख ३० हजार, सुकदेवले सर्विया पठाउने भन्दै १३ लाख, मनिषले युके पठाउने भन्दै दुई लाख, रामरतनले युएई पठाउने भन्दै दुई लाख ३० हजार, अमृतले अजरबैजान पठाउने भन्दै तीन लाख ५० हजार र मिरले युके पठाउने भन्दै १२ लाख ६३ हजार रुपैयाँ ठगी गरेका थिए।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताए ।
.gif)

.png)

