फुल अडिट मिलाइदिने भन्दै पाँच लाख घुस, कर अधिकृतसहित दुई जनाविरुद्ध मुद्दा दायर
पाँच लाख घुस प्रकरणमा कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा
सिरहा : आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एम.एस. पालविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गर्दै घुस लेनदेनमा बिचौलियाको भूमिका खेलेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवलाई समेत प्रतिवादी बनाएको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८र७९ को पूर्ण कर लेखापरीक्षण (फुल अडिट) तथा कर निर्धारणसम्बन्धी काम फर्छ्यौट गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले पेस गरेका बिल–बिजक नमिलेको भन्दै करसम्बन्धी काम रोकिएको र त्यसपछि चार्टर्ड एकाउन्टेन्ट यादवमार्फत घुस रकमको बार्गेनिङ गरिएको अनुसन्धानबाट खुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अनुसन्धानका क्रममा पालले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साउन ७ गते अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो। अख्तियारका अनुसार पालले घुस रकम कार्यालयमै ल्याउन भनेपछि सेवाग्राहीले पाँच लाख रुपैयाँ बुझाउने क्रममा उनलाई पक्राउ गरिएको हो।
पद तथा जिम्मेवारीको दुरुपयोग गरी सेवाग्राहीसँग गैरकानुनी रूपमा घुस मागेको र रकम लिएको आरोपमा पालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। त्यस्तै, घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट यादवलाई समेत प्रतिवादी कायम गरिएको छ।
आयोगले दायर गरेको आरोपपत्रमा दुवै प्रतिवादीलाई कानुनबमोजिम सजाय हुनुका साथै बिगो असुलउपर गर्न मागदाबी गरिएको जनाएको छ।
.gif)

.png)

