आज देशभर वर्षाको सम्भावना
३५ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली रहनेछ । आइतबार बिहान ८ बजेसम्म गण्डकी प्रदेशका केही स्थान तथा कोसी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपात र पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार उपत्यकामा आज मौसम खुल्ने सम्भावना कम छ ।
उनका अनुसार केही समय मौसम खुले पनि फेरि बादल लाग्ने सम्भावना छ । विशेषगरी दिउँसो १२ बजेपछि मध्यम वर्षाको सम्भावना बढी रहेको उनले बताएका छन् । बिहान भने वर्षाको सम्भावना कम रहे पनि छिटपुट वर्षा हुन सक्ने उनको भनाइ छ । दिउँसो र अपराह्न मध्यमसम्म वर्षा हुनसक्ने तथा राति पनि वर्षाको सम्भावना रहेको उनले बताए ।
३५ जिल्लामा आकस्मिक बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित ३५ जिल्ला भएर बहने ससाना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । ती नदीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लाका ससाना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको सम्भावना छ ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटरभन्दा कम वर्षा भए मध्यम र ५० देखि १०० मिलिमिटरभन्दा कम वर्षा भए भारी वर्षा मानिन्छ । त्यस्तै, १०० देखि २०० मिलिमिटरभन्दा कम वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ ।
मौसम पूर्वानुमानमा प्रयोग हुने ‘एक–दुई स्थान’, ‘थोरै स्थान’, ‘केही स्थान’, ‘धेरै स्थान’ र ‘अधिकांश स्थान’ले वर्षा हुने सम्भावित भूभागको प्रतिशत जनाउँछन् । १० प्रतिशतभन्दा कम भूभागमा वर्षाको सम्भावना भए ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतमा ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतमा ‘केही स्थान’, ५० देखि ८० प्रतिशतमा ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना भए ‘अधिकांश स्थान’ भन्ने गरिन्छ ।
.gif)

.png)

