बालेनलाई मनिषको जवाफ: यहाँ कोही एक्लो छैन
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन शाहको ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै परिवर्तनको जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताएका छन्। प्रधानमन्त्री शाहले शुक्रबार मध्यराति सामाजिक सञ्जाल एक्समा लेखेको स्ट्याटसलाई लक्ष्य गर्दै झाले सरकारको साथमा आफूहरू रहेको बताएका हुन्।
‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ,’ झाले एक्समा लेखेका छन्। प्रधानमन्त्री शाहले शुक्रबार राति लेखेको स्ट्याटसमा भनेका थिए, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
त्यसको जवाफमा सांसद झाले सरकारको नियत र आशयमा आफूहरूको शङ्का नरहेको स्पष्ट पार्दै केही पक्षमा भने सुधार आवश्यक रहेको बताएका छन्। ‘हिजो सदनमा भनेझैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नैपर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ,’ उनले भनेका छन्।
झाले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने उल्लेख गर्दै आफू सरकारको साथमा रहेको पनि बताएका छन्। ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ उनले लेखेका छन्।
.gif)

.png)

