ग्यास डिपोमा सादा पोसाकका प्रहरी


२०८३ श्रावण २४ आइतबार ०९:१५ बजे

काठमाडौँ :  खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचना आएपछि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ । गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा ग्यास डिपो तथा बिक्री केन्द्रको निगरानी बढाउन सादा पोसाकका प्रहरी परिचालन गर्न लागिएको हो ।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा उपभोक्ताबाट लगातार गुनासा तथा सूचना आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी हुन् ।

ग्यासको आपूर्ति सहज हुँदाहुँदै बजारमा अभाव देखाएर उपभोक्तालाई महँगोमा ग्यास बिक्री गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग अनुगमनमा प्रहरीको सहयोग मागेकी थिइन् ।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन र आवश्यकताअनुसार सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।

सरकारले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि निगरानी बढाउने भएको छ । त्यस्ता गतिविधिमा संलग्न भएको पाइए कानुनअनुसार कारबाही गर्ने तयारी सरकारको छ ।

उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण सुनिश्चित गर्न बजार अनुगमनलाई थप प्रभावकारी बनाइने उद्योग मन्त्रालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७