मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, सप्तरीका मात्रै ३२ जना
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीपछि मधेस प्रदेशका ५८ जना नागरिक सम्पर्कविहीन भएको विवरण प्रहरीले संकलन गरेको छ। बाढीपछि विभिन्न जिल्लाबाट बेपत्ताको सूचना बढेसँगै प्रदेश प्रहरीले खोजी तथा तथ्यांक संकलनलाई तीव्रता दिएको हो।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार हालसम्म प्रदेशका विभिन्न जिल्लाबाट ५८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। प्रहरीका अनुसार सबैभन्दा धेरै सप्तरीका ३२ जना सम्पर्कविहीन छन्। यस्तै बाराका आठ, सर्लाहीका सात, पर्साका पाँच तथा रौतहट र सिराहाका दुई–दुई जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढीपछि परिवारसँग सम्पर्क हुन नसकेका व्यक्तिको विवरण संकलन गरी खोजी कार्यलाई प्रभावकारी बनाउन जिल्लास्थित प्रहरी कार्यालयहरूले प्रभावित परिवारसँग समन्वय गरिरहेका छन्। प्रहरीले प्राप्त विवरणलाई अद्यावधिक गर्दै बेपत्ताको खोजी र प्रभावित परिवारलाई आवश्यक सहजीकरण गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ।
.gif)

.png)

