भोटेकोशी विपत्ति:

कसरी हुँदैछ उद्धार र राहत वितरण ?

हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाउनुभएको छ। उहाँहरुले भोग्नुभएको यो पीडा सरकारले बुझेको छ। उहाँहरुको पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्‍याउनु अबको बाटो हो।


२०८३ भदौ १५ सोमबार २०:३३ बजे

रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको यहाँहरु सबैलाई जानकारी नै छ। यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी,मिडिया , विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयमसेवक संस्था तथा आम मानिसहरुको भूमिका कदरयोग्य र प्रशंसनीय छ।

यस अवधिमा यहाँहरुले देखाउनुभएको धैर्य, साथ, सहयोग र समन्वयप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । विपद् व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारले दिएको साथ र सहयोग निकै महत्वपूर्ण छ। साथै, हाम्रा मित्रराष्ट्रहरु, स्वदेशी र विदेशी संघसंस्था, सञ्चारमाध्यमलगायतका सबै सरोकारवालाहरुले देखाउनुभएको सदासयता र सहयोग अनुकरणीय छ।

राहत व्यवस्थापन

सरकार अहिले प्रभावित क्षेत्रमा अझैं पनि खोज र उद्धारमा केन्द्रित छ। सँगसँगै प्रभावित क्षेत्रका नागरिकका लागि राहत संकलन तथा वितरण पनि सरकारको प्राथमिकतामै छ। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा संघसंस्था र आम नागरिकहरुबाट प्राप्त राहत सामग्री संकलन गरी प्रभावित नागरिक समक्ष पुर्‍याइरहेका छौँ। यस कार्यमा अन्तर्राष्ट्रिय जगतले पनि सघाइरहेका छन्। हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया लगायत मित्र राष्ट्रहरुबाट सहयोग प्राप्त भइसकेको छ।

हाम्रा सुरक्षाकर्मीले हवाई र सडकमार्गमार्फत प्रभावित क्षेत्र (रसुवा, नुवाकोट र धादिङ) का ४ वटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोट जिल्लाका २७ वटा वितरण केन्द्रमार्फत ३६९६ जना प्रभावित नागरिकसम्म पुर्‍याइएको छ। साथै प्रदेश र स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा ती केन्द्रहरुमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रियताका साथ जुटिरहेका छन्। सरकारले राहत संकलन र वितरणबारे राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकारणले निरन्तर जानकारी समेत गराइरहेका छ। राहत संकलन तथा वितरण कति प्रभावकारी भइरहेको छ भनेर हामीले हाम्रा सचिवालयका सदस्यहरु र कर्मचारीहरुलाई समेत प्रभावित क्षेत्रमै परिचालन गरिरहेका छौं।

आर्थिक सहयोग

नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ। आर्थिक सहयोगका लागि कतिपय देश तथा संघसंस्थाहरुले प्रतिवद्धता समेत जनाएका छन्।

सडक सञ्जाल

बाढीका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भू–भाग पुनः सडक सञ्जालमा जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी भएर त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको छ।

नुवाकोटका ठूलो संख्याका रहनुभएका नागरिकको सदरमुकामसँग पुनः सीधा सडक पहुँच स्थापित भएको छ। यसबाट प्रभावित क्षेत्रहरूमा उद्धार, राहत सामग्री वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिमा थप सहज हुने भएको छ। रसुवा, नुवाकोटदेखि धादिङका अधिकांश स्थानका पुल भत्किएका छन्। यसले आवातजावतमा असर परेको छ।

सरकारले ती क्षेत्रमा अस्थायी पुल निर्माणलाई पनि प्राथमिकता दिएको छ। हामीसँग ४८ मिटर लम्बाइका ६ र ७० मिटरको १ थान बेलिब्रिज छन्। अहिले ३ ठाउँ (देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजार) मा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ। साथै, भारत सरकारबाट २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ। साथै, भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। त्यति मात्रै होइन, चीन सरकारबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुँदैछ।

उद्धार तथा उपचार

बाढी प्रभावित क्षेत्रबाट हामीले उद्धार कार्यलाई तीव्र पारेका थियौं। केहीबेर अघि ११,३७९ जना मानिसहरुको उद्धार भइसकेको छ र ३९२५ जना सम्पर्कविहिन हुनुहुन्छ। सम्पर्कबिहिनीको संख्या घटबढ भइरहेको छ। प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरेका २७९ जना घाइते नागरिकहरुमध्ये केहीबेरअघिसम्म १६८ जना डिस्चार्ज भइसक्नुभएको छ।

निरन्तर ब्रिफिङ

बाढी प्रभावित क्षेत्रमा भइरहेको काम र वर्तमान अवस्थाबारे सुरक्षा निकायकासँग नियमतिरुपमा जानकारी लिइरहेका छौँ। आज पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरुसँग खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाबारे विस्तृत ब्रिफिङ लिएका छौं। उहाँहरुले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका सम्बन्धमा जानकारी गराउनुभएको छ। हामीले प्रभावित क्षेत्रमा खटिरहनु भएका मन्त्रिपरिषद्का सदस्यहरु, संघीय सांसदहरु लगायत अन्य साथीहरुबाट पनि निरन्तर जानकारी लिइरहेको छौं। र, यो क्रम निरन्तर जारी रहने छ।

विद्युत् र सञ्चार सेवा

प्रभावित क्षेत्रमा अवरुद्ध भएको विद्युत् पुनःस्थापनाको क्रम जारी छ । रसुवा जिल्लाको कालिकास्थान, नौकुण्डको केही भाग, गोसाइँकुण्ड गाउँपालिकाको वडा ५ र ६ का केही भाग र सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगिसकेको छ । साथै, आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी भइरहेको छ । जिल्लाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ।

बाढीका कारण नुवाकोट जिल्लाभर विद्युत् सेवा प्रभावित भएकोमा हाल ८५ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भइसकेको छ । बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी ५ दिनभित्र विद्युत् सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ। विदुर नगरपालिकाको १, ३, ५, ६, १० र ११ का केही भाग स्थानहरु, तारकेश्वर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ का केही भागहरु बेलकोटगढी नगरपालिकाको ७ र ८ र किस्पाङ गाउँपालिका भर विद्युत् पुर्‍याउने काम भइरहेको छ।

साथै, धादिङका पृथ्वीराजमार्गको दायाँबायाँको क्षेत्र (गजुरी, आदमघाट, मलेखु, जहरे, मौवाखोलासम्म) प्रभावित भएकोमा आदमघाटको केही क्षेत्रबाहेक धादिङको सम्पूर्ण क्षेत्रमा (९८ प्रतिशत) विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । अबको दुई दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुने गरी काम भइरहेको छ ।

त्यसैगरी सञ्चार सेवा पनि अधिकांश स्थानमा पुनःस्थापना भइसकेको छ । नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा प्रवाह सुरु गरिसकेका छन् ।

प्रभावित विद्युत आयोजनाबाट उद्धार

बाढीका कारण विभिन्न विद्युत् आयोजना प्रभावित भएका छन्। केही आयोजनामा कार्यरत जनशक्ति सम्पर्कबिहीन भएको आशंका छ। नेपाली सेनाले विभिन्न जलविद्युत् परियोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ। साथै आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार जारी राखेको छ।

नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाबाट २ जनाको उद्धार गरेको छ। उक्त आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीबाट सुरुङको भित्री भागसम्म खोजी भएको थियो। उक्त सुरुङमा मानिस नभेटाएपछि उद्धार टोली फर्किएको छ।

रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरुले आज बिहानदेखि सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट ९ जनाको उद्धार भइसकेको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ। उक्त आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ। उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन, र चिनियाँ टोलीले काम गरिरहेको छ।

नुवाकोट माथिल्लो त्रिशूली–थ्री ए को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ। उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिहरेको छ।

माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले २ जनाको उद्धार गरिसकेको छ। हाल उक्त आयोजनामा नेपाली सेनाका थप ९ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन्। यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास सुरु गरेको हो।

नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जनाको उद्धार भइसकेको छ। सौर्य आयोजनाबाट ४ जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट ४ जनाको उद्धार भइसकेको छ।

शव व्यवस्थापन

बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरुको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैं व्यवस्थापन गरिरहेको छ।

हालसम्म ९३९ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।

हिमालय क्षेत्रको ठूलो विपद्

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको छ।

त्यसैले यो क्षेत्र सर्तक त हुनैपर्छ, सँगसँगै हामीले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद्को विषयबारे बलियो गरी उठान गर्नुपर्ने पनि समय आएको छ।

पुनःस्थापनामा

प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफल समेत अघि बढाएको छ। त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण समेत संकलन सुरु भइसकेको छ।

हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाउनुभएको छ। उहाँहरुले भोग्नुभएको यो पीडा सरकारले बुझेको छ। उहाँहरुको पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्‍याउनु अबको बाटो हो। उहाँहरुलाई मानसिक र शारीरिक रुपमा सशक्त बनाउँदै पुनःस्थापना गर्न सरकार लाग्नेछ। पुनःस्थापनाका आवश्यक आर्थिक स्रोत जुटाउने क्रम जारी छ।

(प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा राखेको जानकारी)

 

लेखक चिनारी

बालेन्द्र शाह (प्रधानमन्त्री)
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७