हामीले नगन्य गल्तीको ठूलो सजाय भोग्यौं, जवाफ विश्व समुदायसँग खोज्नुपर्छ: प्रधानमन्त्री

‘हामीले जवाफ विश्व समुदायसँग खोज्नुपर्छ र यसबारे मानव सभ्यतालाई पनि जवाफ दिनुपर्छ। यो हाम्रो जिम्मेवारी हो’


२०८३ भदौ १८ बिहीबार २०:५४ बजे

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा देखिएको असरको ठूलो मूल्य नेपालले भोग्नुपरेको बताएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीलाई उनले लामो समयदेखि देखिँदै आएको जलवायु संकटको परिणामका रूपमा व्याख्या गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपालले भोगेको त्रासदीबारे अन्तर्राष्ट्रिय समुदायसँग जवाफ खोज्नुपर्ने बताएका हुन्। उनले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने क्रम बढ्दै गएको र त्यसको असर हिमालय क्षेत्र हुँदै समुद्री तटसम्म पुगिरहेको उल्लेख गरेका छन्।

उनले प्राकृतिक विपद्को व्यवस्थापन चुनौतीपूर्ण भए पनि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै सरकार अहोरात्र उद्धार, राहत तथा पुनःस्थापनामा खटिएको दाबी गरेका छन्। प्रभावित नागरिकका लागि प्रदेश र स्थानीय तहसँगको समन्वयमा विभिन्न होल्डिङ सेन्टर सञ्चालन गरिएको र खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री वितरण भइरहेको उनले बताए।

प्रधानमन्त्रीका अनुसार नुवाकोटका २४ होल्डिङ सेन्टरमा २ हजार ७९६ जना, रसुवाका पाँच केन्द्रमा १९५ जना तथा काठमाडौंका दुई केन्द्रमा रसुवाका प्रभावित क्षेत्रका ३०० जना बसिरहेका छन्। रसुवाका विभिन्न क्षेत्रमा दैनिक करिब ४ हजार ५०० जनालाई हेलिकप्टरमार्फत राहत पुर्‍याउने काम भइरहेको उनले जानकारी दिएका छन्।

संघ, प्रदेश र स्थानीय तहसँग समन्वय

बाढीपछि प्रभावित जिल्लाका स्थानीय कर्मचारी तथा जनप्रतिनिधिबाट प्राप्त प्रारम्भिक सूचनाका आधारमा उद्धार तथा राहतका काम अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

उनका अनुसार बाढी आएको दिन नै मन्त्रिपरिषद् बैठकले प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। घटनाको भोलिपल्ट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बागमती प्रदेश सरकारसँग छलफल गरिएको र त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा जिम्मेवारी बाँडफाँट गरी काम अघि बढाइएको उनले बताए।

पूर्वाधार पुनःस्थापनामा तीव्रता

प्रधानमन्त्री शाहले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माण तथा पुनःस्थापनाको काम तीव्र गतिमा भइरहेको पनि जानकारी दिएका छन्। उनका अनुसार प्रभावित क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी सञ्चार सेवा पुनःस्थापित भइसकेको छ भने केही घरधुरीमा विद्युत् सेवा पुर्‍याउन बाँकी छ।

गल्छी–मुग्लिन सडकखण्डको कृष्णभीरमा सडक सञ्चालनका लागि ट्र्याक खोल्ने काम सुरु गरिएको उनले बताए। दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ र सिट पाइललगायत विकल्पको अध्ययन गरिने तथा भदौभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनको भनाइ छ।

परेवाभीरमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा आइसकेको छ। त्रिशूली–बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटरबाट लेदो हटाइसकिएको र बाँकी क्षेत्रमा काम भइरहेको प्रधानमन्त्रीले बताए। क्षतिग्रस्त थप ३५ किलोमिटर सडकका लागि आपत्कालीन बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिए।

त्यस्तै, तादी र बेत्रावतीमा बेलिब्रिज निर्माणको काम अघि बढाइएको तथा त्रिशूलीमा १२० मिटर लामो बेलिब्रिज आवश्यक देखिएको प्रधानमन्त्री शाहले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७